Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “आर्यघाट सन्त्रास र भोलिका मान्छे” भाग—२ : कथा
    कनकाई नगरपालिका

    “आर्यघाट सन्त्रास र भोलिका मान्छे” भाग—२ : कथा

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र २१, शुक्रबार १३:०५ गते12 Mins Read

     झन्डै पाँच वर्षपछि आज म  पशुपति -परिवेशमा छु। बाग्मती नदी उही छ, जसरी पाँच वर्षअघि उत्तरबाटै बग्ने गर्दथ्यो। धमिलो पानी, माथि टुक्रा टुक्री उसै गरी बग्दै आइरहेका छन्। पशुपतिनाथको दर्शन गर्नेको लर्को पनि उस्तै छ, भिड देख्दा लाग्छ, आज दर्शन गर्ने अन्तिम दिन हो। आज दर्शन गर्न छुटाए भगवानकाे खजानारूपी बाकस सबै रित्तो हुनेछ। मानौँ आजै रित्तिँदैछन् भगवान् पशुपतिनाथ ।

                         दर्शनार्थी उसै गरी हतारिएका छन्।जसरी पाँच वर्षअघि हतारिएका थिए। फरक यति छ, आज लामबद्ध दर्शनार्थीहरूमा केही आवेग, थोरै सङ्कोच अनि ज्यादा चिरचिराहट प्रष्ट देख्न सकिन्छ। मैले पनि लाइनको पल्लो छेउबाट पशुपतिनाथको दर्शन गरें दुई हात जोडेर। भिडलाई छिचोल्न नसकेको मैले एक दर्शनार्थीको प्रष्ट आवाजलाई भने मजासँग सुनिरहेको थिएँ। उनी भन्दै भन्दै थिए´´ अब त भगवानको दर्शन गर्ने सिस्टम पनि मोबाइलमै भइदिएदेखि कति राम्रो हुन्थ्यो”

          छेउमै उभिएको अर्को दर्शनार्थी उसको कुराले फिस्स हाँस्यो तर कुनै प्रतिक्रिया जनाएन। सायद मोबाइलवाला दर्शनले उसकाे पनि चित्त बुझ्यो होला। बरु लाइनमा उभिएका दुई व्यक्तिहरूको सङ्काेचपूर्ण गफगाफले मेरो ध्यान आकृष्ट गरायो। जुत्ताघरतिर आफ्ना आँखालाई सास्ती दिँदै ऊ भन्दै थियाे ´´ लाइन निकै लामो रहेछ, दर्शन गर्न समय लाग्छ होला। कतै जुत्ता पो चोरी हुने हो कि!”

         दोस्रो व्यक्तिले थप्यो´´ सबै मानिसहरू भगवानकै    दर्शन गर्न आउने हुन् कसले पो चोर्ला र!”

       पहिलो व्यक्ति विश्व हुनै सकेन, उसले दोस्रोलाई सम्झाउँदै भन्यो´´ सफा मन भएकाहरू मात्रै भगवानको दर्शन गर्न आउने भएका भए मलाई लाग्छ! मन्दिरहरू मसानघाटमा परिणत हुने थिए होलान्। त म  भन्छु, हामी सबै कुनै न कुनै जन्मको वा अहिलेकै पाप पखाल्न उपस्थित भएका छौँ।”

        दोस्रो व्यक्तिले यो पटक कुनै प्रतिक्रिया जनाएन सायद उसलाई लाग्यो होला ´यो मन्दिर परिसरमा बोलिएका कुराहरू अकाट्य हुन्छन्।` बरु एकपटक झस्किएझैँ गर्यो। जुत्ता घरतिर उसले पनि आँखा लम्कायो तर हठात् आँखालाई यति छिटो केन्द्रीकृत गर्यो कि मानौँ उसले जुत्ता घरतिर आँखा सन्काएकै थिएन। ।

           मलाई संवादले भन्दा पनि पाँचवर्षअघिको नाङ्ले व्यापारी अर्थात् मेरो शून्य समयलाई सजीव बनाउने असल मित्रको यादले तानिरहेको थियो। म हतारमा त्यतैतर्फ अघि बढेँ अर्थात् मलाई नाङ्गले व्यापारीको सम्झनाले चुम्बकले फलामलाई तानेझैँ तानिसकेको थियो। ठानें ´´ तँछाड मछाड गरेर गरिएको दर्शनमा भन्दा आत्मिक आनन्दानुभूति दिलाउने बाह्य दर्शन अत्यन्तै शक्तिशाली हुन्छ किनकि भगवान् आफैँ अदृश्य शक्ति हुन्, म विश्वस्त भएर भन्न सक्छु आजका मान्छेले साँच्चै भगवानलाई नै भेट्ने हो भने पनि या त राक्षस बनाइदिन्छन् या भ्रष्टाचारी। आफैँलाई लाग्यो ! यति लामो लाइनको सास्ती खपेर दर्शन गरिसकेपछि यी सबै मानिसहरुले आज दिनभर आफूलाई अजर अनि अमरमा परिणत गरेर विश्व विजयको शङ्खनाद गर्दै घर फर्कनेछन् र फेसबुकका भित्ताभरि आफूलाई प्रमाणित गराउने छन् कि म भगवान शिवको चौथो नेत्र हुँ।”

           मन्दिरको तल्लो छेउबाट मेरा आँखाहरूले आर्यघाटलाई नियालिरहेका थिए। मन भन्दै थियो´´ पाँच वर्षपछिको पशुपति- परिवेशको दर्शन हो। आज आँखाहरूले आर्यघाटमा कुनै पनि लास नदेखून्।” मेरो मनको कुरालाई आर्यघाटले किन मान्थ्यो र! आखिर आर्यघाट त आर्यघाटै हो नि। यहाँ लास जल्दैनन् भने  यसले आफ्नो परिचय कसरी बचाउन सक्छ र ! घाटका बीचको पुलको उत्तर र दक्षिणतर्फ गरी कम्तीमा पाँचवटा लासहरु जलिरहेका थिए। मन अनि वस्तुस्थितिका िबचको तादत्मता नमिलेपछि मेरा आँखाहरु बाग्मती पारी डुल्न थाले। मन भन्दै थियो ´´अब मेरो नाङ्ले साथीले पनि सुधारिएको यस सहरमा आफूलाई फेरिसक्यो होला। सायद अब उसको नाङ्लाको व्यापारले थुप्रै सर्टरहरू कब्जा गरिसकेको हुन सक्छ।”

        देखेँ वास्तवमै पशुपति परिसर केही हल्लिएको भने अवश्य रहेछ। भित्ताहरू रङ्गिएका रहेछन्। पाँच वर्षअघि कुँदिएको´´ खोज” शब्दलाई मेरा आँखाहरुले कतै भेट्टाएन। न त “सोच” शब्दलाई नै स्पर्श गर्न सक्यो। मन खुसी मात्र भएन हलुङ्गो पनि भयो।´´ आहा! आर्यघाट परिसरले त अब केही सोच्नुपर्ने आवश्यकता रहेन भने म मात्रैले किन सोच्ने?”

     ठानें´´ वर्षौं अघिदेखि केही वस्तु हराएको झैँ गरी खोज्न निक्लने हरेक खोजकर्ताहरूले अब यस परिसरमा केही भेट्टाउने छैनन्।”

       मलाई अब यस परिसरभित्र कुनै कुराको न  डर रह्यो न त शङ्का नै। अब मैले “खोज”लाई न त ओड्नुपर्छ न त ओछ्याउन नै। सायद मेरो शून्य समयको मित्रलाई पनि आनन्द भयो होला। किनकि उसले पनि अब यहाँ केही खोज्नुपर्ने रहेन।

          मस्तिष्क चलेभन्दा पनि मेरा आँखाहरू बेजोड किसिमले चलिरहेका थिए। लामो समयपछि म मेरो मित्रको खोजीमा थिएँ। मन एकदमै कौतुहल थियो। पक्कै पनि उसले मलाई भेट्नासाथ गम्लङ्गै अङ्गालो हाल्नेछ। एक वर्षअघि फोनमा ऊ भन्दै थियो´´ मित्र!

    आज पनि मैले पशुपति परिसरको आर्यघाटलाई छोडेकै छैन। किनकि हिजोदेखि जीवनको सत्य टेकेर उभिएको म ,आज मैले एक्कासि आफ्नो सत्यलाई डगमगाउन दिएँ भने पखालिएका चिताहरू जीवित भएर उठ्न के बेर?”

     उनका यी अभिव्यक्तिहरूलाई मैले राम्रोसँग ठम्याउन  सकिन तर यतिचाहिँ अनुमान लगाए कि मेराे शून्य समयका मित्र आज पनि पशुपति परिसरमै जीवित छन्।

            आँखाहरूले उनलाई कतै ठम्याउन सकेनन् । विचलित आँखाहरू भन्दै थिए।´´ सायद उनले सहर छोडिसके। हिजो आज गाउँ छोड्नेहरूको भन्दा बढी लर्को त सहर छोड्नेहरूकै छ। राष्ट्रवादका नङ्ग्राहरूले नङ्ग्र्याएका सहरहरूका शासकहरू यसरी शासन गरिरहेका छन् कि भविष्य खोज्न सहर पस्ने हरेक व्यक्तिहरू राष्ट्रद्रोही हुन्। हुन सक्छ मेरा मित्रलाई पनि यो सहरले राष्ट्रद्रोहको बिल्ला भिराइसक्यो होला। “

          मैले मोबाइल झिकेँ। नम्बर डायल गरे तर उनको फोन उठेन। मनले भन्यो´´ अब आधा घण्टाचाहिँ उनलाई खोज्नै पर्छ।“

         आर्यघाटको दक्षिणपट्टिको अन्तिम चितासँगै धमिलो गरी उनलाई मेरा आँखाहरुले ठम्याए। ठानेँ ´´उनले आफन्तै गुमाएछन्।“ मनले भन्यो ´´कुदेर गई उनलाई अँगालो हालौं।“ तर आर्यघाटको परिवेश त्यस्तो थिएन किनकि त्यहाँ लास र मलामीहरूले सम्पूर्ण क्षेत्रलाई लिलामी गरिसकेका थिए। हेर्दाहेर्दै चितामाथि आगो छोडियो। चिता जल्न थाल्यो र हठात् बल्यो पनि । मेरा मित्रले “घारो” उठाई लासलाई हुडल्न थाले। मानौँ लास चिताबाट जुरुक्क उठेर कतै भाग्न खोजिरहेको छ। अनुहार रातो पिरो बनाई बेस्कन घारो प्रहार गर्न थाले। मलाई लाग्यो´´ यिनी लाससँग जन्म जन्मान्तरको प्रतिशोध साँधिरहेका छन्। हुनसक्छ! यो लास यिनी तिर्खाएर काकाकुल भएको बेला धारो बन्द गर्ने घरबेटी हो। हुनसक्छ! यो लास यिनलाई मध्यरात कोठाबाट लखेट्ने कुनै महाजन हो। यी दुबै होइन भने यो लास आफ्नो बास उठाउने कुनै शासकको हो ।”

         हेर्दाहेर्दै त्यो लास पूरै जल्यो। पाँच वर्षअघि उनैले भनेको सम्झिएँ´´ सम्पन्न ल्याइयो भने पूरै जल्छन्”

         सोचें “सम्पन्न नै ल्याइएछ नत्र कटमिरो जलेर आधा शरीर बाग्मतीमै हुत्याउनु पर्थ्यो।”

          म पाँच वर्षपछि भौतिक रुपमा मेरो मित्रको अत्यन्तै नजिक छु। अर्थात् हामीसँगै छौँ भने पनि हुन्छ। दाह संस्कार सम्पन्न भएपछि उनका आँखा मेरा आँखाहरुसँग जुधे। एक टकले मलाई हेरिरहे। तत्काल प्रतिक्रिया दिन सकेनन् तर प्रतिक्रिया नदिरहन पनि मानेनन् । पाँच वर्षपछिको भौतिक उपस्थितिमा उनले बोलेको पहिलो वाक्य थियो´´ हाम्रो सम्बन्ध पनि विचित्रको छ। भेट पनि आर्यघाटमा हुने गर्छ।”

           मैले जवाफ फर्काए “यस्तै हो मित्र! मान्छेको जीवनको पहिलो भेट जहाँ भएपनि अन्तिम भेट हुने ठाउँ त यही हो नि, कि कसो!”

          मैले यसो भनिरहँदा उनले मेरो अनुहारलाई शिरदेखि पाउसम्मै हेरे। मानौँ म लामो समयसम्म कतै छुट्टिएर आज अकस्मात् भेटिँदै गरेको कुनै नाबालक हुँ।

         तर मेरा मित्रमा पाँच वर्षअघिको कुनै चमक थिएन। मैलिएका थोत्रा कपडा, कालो धुवासँगै डडेको अनुहार, राता गालाहरूमा भेल नदी बगेका झैँ धर्साहरू देखिँदै गएका, पूरै शरीरबाट मसान घाटको गन्ध आउने, उनलाई मैले नजिकबाट नियाल्दा यस्तो लाग्यो´´ पाँच वर्षअघिका यी मेरा मित्र पक्कै पनि होइनन्।”

         तर वास्तविकता त्यही थियो। उनी मेरै मित्र थिए। ठिक! मेरो शून्य समयका मित्र। अचानक मेरो मुखबाट एउटा वाक्य फुत्कियो।´´ तपाईँ यस्तो कसरी?”

         एकाएक उनको अनुहार मलिन भयो। हामी बसेको चट्टानरुपी सिँढीलाई हातका औंलाहरूले दरिलो गरी चिथोर्दै उनले भने “के गर्ने मित्र! बहादुरहरूको सहरमा हामी कायरहरूले बाँच्ने यसरी नै हो। यो सहरले मेरो पसल मात्र थुतेन नाङ्लोसमेत थुत्यो। नाङ्लोसँगै मेरो सपना थुत्यो ।भविष्य थुत्यो अनि कहिल्यै उठ्न नसक्ने गरी बिपना पनि थुत्यो । सुनेको थिएँ काठमाडौँ सपनाको सहर हो रे। ठिकै रहेछ किनकि यहाँ बिपना देख्न सख्त मनाइछ। भिडसँगै बाँचेका बहादुरहरूले हामीजस्ता कायरहरूलाई तड्पाई तड्पाई मार्न शिवाय केही जान्दा रहेनछन्।”

         यसो भन्दा उनका आँखाहरूमा एकातिर क्रोधाग्निको ज्वाला प्रष्ट रुपमा देख्न सकिन्थ्यो भने अर्कातिर उनका गहहरु भरिएको जो कोहीले अन्दाज लगाउन सक्थ्यो। उनले फेरि आफ्ना कुराहरू थप्दै गए र गम्भीर हुँदै भने´´ के गर्नुहुन्छ मित्र! यो सपनाको सहरमा टहल्ने मेरो कहाँ रहर हो र! जुन दिन सिन्धुपाल्चोकमा पहिरो गयो उसै दिन मेरा सपनाहरू पहिरोसँगै पुरिएका थिए। तर पनि सन्तानको सासलाई आसका रूपमा जीवित राख्न मात्रै मैले यो  सहरलाई रोजेको हुँ। जुन दिन मेरो सास र आशको “नाङ्लो”यो सहरले खोस्यो नि त्यसदिन मसँग तीनवटा विकल्प मात्र बाँकी थिए। पहिलोः बग्न बाँकी रहेको सिन्धुपाल्चोकको भिरमा गोठ ठड्याई दोस्रोपटकको भेलसँगै बग्ने, दोस्रोः आर्यघाटमा मसँगै बाँकी रहेका तीन जहानहरू सँगै जल्ने, अनि तेस्रो: यो घाटमा “घाटे” भई म र परिवारको नाङ्गो शरीर ढाकेर जीवनयापन गर्ने। मेरा लागि त तीनवटा विकल्पमध्ये सबै उत्तिकै हुन् तर ती कल्कलाउँदा सन्तानका लागि भने यो तेस्रो विकल्प नै ठिक रह्यो। त्यसैले विगत एक वर्षदेखि यस घाटमा “घाटे” आफू लत्रिएर परिवार बचाइरहेको छु ।”

            यसो भनिरहँदा उनका आँखाहरूले मेरा  आँखा सँग जुधाउने पटक्कै साहस गरेनन्। बरु उनका आँखाहरू पटकपटक जलिरहेका लासहरूतर्फ हुन्थे। हुन त यस आर्यघाटमा´ घाटे` उनी मात्र होइनन् तर पनि उनी मृत्युपछि शवकाे सम्पूर्ण स्याहारसुसार गर्ने जिम्मेवारी आफ्नै हो भनेझैँ गरी मसँग प्रस्तुत भइरहेका थिए।

          त्यति नै बेला ठूलो भिड आर्यघाटमा प्रकट भयो। हामी घाट नजिकै छौँ। अकस्मात् सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन थाल्यो। यसपटक भने मेरा मित्रले पाँच वर्ष अघिको अनुहारको आकृति देखाए र भने´´ अब ढुक्क हुनुस् मित्र! मेरो शरीरमा  तपाईँले मसान घाटको दुर्गन्ध पाउनुहुने छैन। किनभने अब जल्ने शव दाउरामा नजलेर श्रीखण्डमा जल्ने छ।”

         यसो भन्दा उनको अनुहारको क्रोध एकाएक हराएको देखियो। मलिन अनुहार क्रमशः उज्यालिँदै गएको मैले पाएँ। उज्यालो अनुहारमा उनले फेरि थपे´´ मित्र! मलाई थाहा छैन जीवनभर मान्छेको माेल कति हुन्छ तर यस आर्यघाटको बसाइले मृत्युपछिको मोललाई नजिकबाट पढ्न सिकाएको छ। म जान्दिन र भन्न पनि सक्दिन। श्रीखण्डमा जल्न सौभाग्य पाउने यस मानिसले जीवनभर के गर्‍यो तर मृत्युपछि चाहिँ यस मानिसले म घाटेलाई मात्र होइन सम्पूर्ण शवयात्रीलाई यस घाटबाट सुगन्धित बनाई घर फर्काउनेछ। आज यस आर्यघाटले पनि एकपटक फेरि मगमगाउने सु -अवसर प्राप्त गर्नेछ।”

         मैले सोचेँ´मेरा मित्रलाई घाटले भन्दा पनि नाङ्लो थुतिएको विषयले ज्यादै चोट पुर्‍याएछ। आर्यघाटले त उनलाई मात्रै होइन सिङ्गो परिवारलाई नवजीवन पो दिएको रहेछ।` मलाई लाग्यो “सत्य अनि तथ्यभन्दा पनि लहर र भिडको पछि दौडने मेरा सहरहरूले हरेकका रहरहरूलाई मारिरहेका छन्। रहर ठूलाका हुन् वा सानाका, आखिर रहर त रहरै हुन् नि, सानाका रहरहरू माथि दाईँ गरेर ´वा वाही` बटुल्न पल्किएका नव आधुनिक शासकहरूलाई के थाहा शासकहरूको इतिहास मेटिएका दिन गरिबहरूका इतिहास लेखिन्छन् भन्ने कुरा।”

        उनले फेरि आफ्ना कुरा थप्दै गए, भने´´ मित्र !म त भन्छु यो स्वार्थी दुनियामा सुख कसैलाई छैन। यदि यो संसारमा सुख कसैलाई छ त  चितामाथि सुतेको लासलाई। यदि सुख  नहुँदो हो त उसले मुनिबाट दनदन आगो दन्काउँदा पनि किन प्रतिक्रिया जनाउँदैन? यहाँ हरेक मानिसहरू भ्रममा छन्। भ्रममा यसकारण छन् कि मलामीहरू आफूलाई जीवित ठान्छन् र लासलाई चाहिँ मुर्दा तर मेरो विचारमा सत्य यो होइन किनकि लाससँग आउने हरेक मलामीहरू लाससँगै काँपिरहेका हुन्छन्। उनीहरूलाई डर छ आफूचाहिँ मुर्दा हुनु नपरोस्। तर त्यो पर घाटमा सुतेको मुर्दालाई नियालेर हेर्नुस् त ,कति मस्त छ, कस्तो चिर निन्द्रामा छ।”

         मेरा मित्रको कारुणिक वेदनालाई म राम्रोसँग बुझ्न सक्थेँ। उनले जीवनसँग किन यति धेरै विरक्तिनु पर्यो?त्यो पनि म भन्न सक्थेँ। तर आँट आएन। मात्र उनका कुरा सुनिरहन म बाध्य भएँ। मलाई थाहा थियो´´ यो सहर कम वास्तविकता र बढी हल्लामा बाँचेको छ। यो सहर शिर भएका मुकुट्टाहरूको हो। यहाँ हिजो -आज सपना देख्न पनि सक्त मनाही छ। किनकि यो सहरले आफ्नो वास्तविक रहरलाई मारिसकेको छ। “भय” लाई पूजा गर्ने यस सहरले आफ्ना सन्तानहरूलाई के सिकाउँदै छ? र कसलाई गुरु ठान्दैछ? पत्ता लगाउन केही समय कुर्नैपर्छ। सहर जन्मिएदेखि नै यहाँ बलियाहरूले शासन गरेर झुक्याइरहेका छन् भने कमजोरहरूले झुक्याएर शासन गरिरहेका छन् अन्ततः झुक्किने हामी नै हौँ। हिजो शक्ति पुज्न पाउँदा आफूलाई गर्व गर्थ्यौं। आज भीडले शक्ति पुज्दा पनि गर्व गरिरहेका छौं।

         परबाट एउटा आवाज सुनिन्छ “हेलो दाइ! ठिक छ? हेलो माइली भाउजू !के गर्दै हुनुहुन्छ?” त्यो आवाज सुन्नासाथ मेरा मित्रले मलिन अनुहार लगाउँछन्। हत्तपत्त आफू बसेको ठाउँ छोड्न चाहन्छन्। उनको शरीरमा काउसो छिरेझैँ सकसकाउन थाल्छन्। उनका गतिविधिहरूलाई म राम्रोसँग नियालिरहेको छु। उनलाई त्यो आवाजले पोलेको मात्र छैन डरसमेत पैदा गरिदिएको छ। जब आवाज दिने “ऊ” मेरो नजिक आइपुग्यो तब मैले उसलाई प्रष्टसँग चिनेँ।  ऊ त त्यही पाँच वर्षअघिको जँडिया पो रहेछ। मेरो मित्रलाई देख्नासाथ उसले ढ्याप मार्यो र भन्यो´´  यो घाटमा  मान्छे पोलेर कति बस्छौ हो “गोले” दाइ! यसरी नै पोल्दै गयौ भने एकदिन तिमीले त यो सिङ्गो सहरलाई मसानघाट पो बनाइदिने रहेछौ त। भाउजूलाई पनि ढाँटेछौ नि, म घाटे होइन भनेर। कति ढाँड्छौ, साँचो बोल्न डर लाग्छ भने रक्सी खाएर  जाऊ र भाउजूलाई चिच्याएर भन्देऊ “ सपनासमेत खोसिएको म गोले तिमीहरूको मृत्युलाई काखमा राखेर जीवन खोजिरहेको छु। कसको नमान्लिन् त भाउजूले।”

            जँडिया आफ्नै गतिमा उकालो लाग्छ। उसैगरी सबैका सुख दुःखका खबरहरु सोध्दै। म मेरा मित्रको आकृति पढ्छु। जँडियाले अकस्मात् उनलाई हल्लाइदिएको छ। उनी जडियाको कुराले कुनै प्रभावित भएजस्तो गर्दैनन् तर अनुहार पढ्न सकिन्छ। मित्रको स्वाभिमानको खम्बा आज जँडियाले उखेलेर बाग्मतीको भेलमा बगाइदिएको छ।

         नेपथ्यमा मेरो मित्रलाई कसैले बोलाएको आवाज सुनिन्छ।´´गोले दाइ झट्ट आउनुपर्यो चिता तयार भयो।”

            केही समयपछि चिता दनदन बल्न सुरु हुन्छ। तर यसपटक आर्यघाटमा मानव गन्धभन्दा पनि चन्दनको सुगन्धले हावालाई सुशोभित गरेको अनुभव हुन्छ। मेरा मित्रले पूर्ववत् क्रममा चिता उडल्ने कामलाई निरन्तरता दिइरहेकै देखिन्छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बालमैत्री नगर घोषणा गर्ने तयारीमा कनकाई नगरपालिका

    २०८२ बैशाख २५, बिहीबार ००:२३ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनको महायज्ञमा नौमति बाजासहित कलश यात्रा

    २०८२ बैशाख २५, बिहीबार ००:०२ गते

    व्यवस्थित आयोजना कार्यान्वयनका लागि कनकाईमा आयोजना बैंक

    २०८२ बैशाख २४, बुधबार ०८:१५ गते

    नर्वदेश्वर शिवालय सामुदायिक भवनमा आजदेखी महायज्ञ सुरु हुने

    २०८२ बैशाख २४, बुधबार ०७:४५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.