परिचय:
“ रित्तो हात” कविता सङ्ग्रह कवि कृष्णप्रसाद अधिकारीद्वारा लेखिएको समसामयिक विषयमा आधारित सङ्ग्रह हो। विसं २०११ चैत्र २१ गते पाँचथर जिल्लाको सुभाङमा जन्मनुभएका कवि अधिकारीको प्रस्तुत सङ्ग्रह प्रकाशनका दृष्टिले पहिलो भएपनि मोरङबाट प्रकाशित हुने साप्ताहिक एवं दैनिक पत्रिकाहरूमा फुटकर कविता प्रकाशन एवं सम्पादन गरिसक्नुभएका कवि अधिकारी कविताका क्षेत्रमा नयाँ भने पक्कै हुनुहुन्न । लामो समयसम्म शिक्षण पेसामा आबद्ध रहनुभएका अधिकारी अवकाश पछिको जीवनलाई व्यवस्थित गर्न हाल विभिन्न संस्थामा कार्यारत साथै नेपाल ज्योतिष परिषद्को सदस्यसमेत रही ज्योतिष कार्यमा समेत तल्लीन रहनुहुन्छ। “सुभाङको सेरोफेरो” नामक कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहनुभएका अधिकारीले मुक्तक समकक्षी छोटा विभिन्न विषयमा रचनाहरूसमेत प्रकाशन गरिरहनुभएको छ।
भूमिका सन्दर्भ:
बाह्य कलेवर बाहेक ९६ पृष्ठमा पृष्ठित कवितासङ्ग्रह भित्र लामा छोटा गरी ३५ कविताहरू सङ्कलित छन्। अत्यन्तै सुन्दर कलेवर रहेको सङ्ग्रहका बारेमा डाक्टर पुण्यप्रसाद सिग्देलले भूमिका लेखनका सन्दर्भमा सतहीरूपमा गहन टिप्पणीसमेत गर्नुभएको छ। उहाँका विचारमा रित्तो हात कविता सङ्ग्रह जन्मनुको मुख्य कारण भनेकै जीवनको महत्त्वपूर्ण समयमा श्रमको मूल्य नपाउँदाखेरिको परिणाम हो। उहाँ भूमिका खण्डमा लेख्नुहुन्छ´´ कल्पना गरौं ३५ वर्ष एउटा विद्यालयमा अध्यापन गरेका विद्यार्थी तथा अभिभावकका प्रिय एवं आदर्श शिक्षकले पेन्सन, उपादान आदिबाट वञ्चित भई उमेरका आधारमा खाली हात विद्यालयबाट बाहिरिनु पर्दा कस्तो लाग्छ? यस कविता सङ्ग्रहको प्रतिपाद्य विषय यही भएपनि हिमालका जडीबुटी, देशको सम्पत्ति, कुर्सी, कस्तो लोकतन्त्र ,छन्द र अक्षर, गणित गिन्ती, साँवा ब्याज, जस्ता शीर्षकभित्र गाँसिएका विचारहरुले समसामयिक, सामाजिक, विकृति, आर्थिक व्यवहारको विषयको चर्चा र सुधारको बाटो औल्याएका छन्।”
त्यसैगरी भूमिका लेखनकै सन्दर्भमा साहित्यकार मिश्र बैजयन्ती लेख्नुहुन्छ´´ कविता मानिस रहुन्जेल रहन्छ। यो हरेक मानिसको हृदयसँग जोडिएको लयप्रधान विधा हो। यसले हृदयको अन्तरलयमा सम्बोधन गर्दछ। लयको आफ्नै कला हुन्छ। कविताले स्वरूप वा किसिम हुनुको मात्र अर्थ राख्दैन कविताको सौन्दर्य यसको बुनोटमा भर पर्दछ। कवि अधिकारीका कवितामा लयको उपस्थिति छ। लोकलय ,झ्याउरेलय यहाँ छन्। उनी सरल कवि भएकाले अभिधा उनको विशेषता बनेको छ ।कविताको क्लिष्टताबाट उनी बचेका छन्। उनलाई सरल, सुबोध्य, प्राञ्जल कविका रूपमा लिनुपर्छ।”
भूमिका लेखनकै सन्दर्भमा यमुना बिष्ट बास्तोलाले कवि अधिकारीलाई यथार्थ परक विषयवस्तुमा कलम चलाउने कविका रूपमा चिनाउनुभएको छ भने देवीप्रसाद घिमिरेले कवि अधिकारीलाई सरल भाषामा कविता लेख्न सक्ने एउटा चम्किलो ताराका रूपमा टिप्पणी गर्नुभएको छ। त्यस्तै रविन भट्टराई लेख्नुहुन्छ´´ कवि अधिकारीको रित्तो हात कविता सङ्ग्रह ३५ वर्षे संघर्षशील शिक्षण सेवामा आर्थिक शून्य उपलब्धिको परिणामस्वरूप जन्मिएको कविता सङ्ग्रह हो।”
मुकुन्दराज रिजालले कविता सङ्ग्रहका सन्दर्भमा शुभकामना व्यक्त गर्दै ´´साहित्यिक कृतिको छाप छोड्न सफल कविता सङ्ग्रह हो” भनी टिप्पणी गर्नुभएको छ भने युवराज बास्कोटा ( यज्ञ) ले सरल स्वभावले जन्माएका सरल भाषाशैलीका कवितात्मक लय एकदमै रैथाने कविता हुन् भनेर टिप्पणी गर्नुभएको छ। कविता सङ्ग्रहका लागि शुभकामना व्यक्त गर्ने अन्य व्यक्तिहरूमा लीलाप्रसाद अधिकारी, शिवराज अधिकारी, मेघनाथ ओझासमेत रहनुभएको छ।
विषय प्रवेश:
विरही गीत: प्रस्तुत शीर्षकको कविता सङ्ग्रहको पहिलो कविता हो। लोकलयमा रचना गरिएको यस कविताले लोकतन्त्रका नाममा झ्याली पिटाइदिनेहरूबाटै देशमा ब्रह्मलुट मच्चाइरहेको तथ्यलाई उजागर गरेको छ। दोस्रो ठूलो जनआन्दोलनको जगमा खडा भएको लोकतान्त्रिक गणतन्त्रबाट आम मानिसहरूले ठूला ठूला अपेक्षा राखेका तर ती अपेक्षाहरूमा तुषारापात पर्दै जाँदा आम मानिसहरू लोकतन्त्रप्रति नै अविश्वास गर्न थालेका प्रति कविको चित्त दुखाई देखिन्छ। कवि लोकतन्त्रजस्तो विषय आज विरही गीतमा परिणतहुँदा जनताहरूले लोकतन्त्रलाई कसरी बुझेका होलान् भन्दै प्रश्नसमेत गर्दछन्।
म झैँ कति रुन लागे धेरै चाहिँ हाँसे
लोकतन्त्र भन्दाभन्दै माला चुडाई गाँसे।
निमुखाको निसाप छैन आफ्ना मान्छे हुले
होला होला भन्दाभन्दै दारी जुँगा फुले।
गरिब: यस शीर्षकको कवितामा कवि अधिकारीले रातोदिन काम गरेर पनि सधैं आधा पेट खाली रहने गरिबहरूको बाध्यता एवं वास्तविकता तथा उनीहरूको दैनन्दिनका बारेमा चर्चा गर्नुभएको छ। हिजोदेखि आजसम्म निरन्तर रूपमा काम -काम भनेर आफ्ना बालबच्चाहरूलाई समेत घामपानीबाट जोगाउन नसकी साहुकाेमा तरतर पसिना काडेर काम गर्ने गरिबहरूको आर्थिक स्थिति फेरिन नसक्नु अत्यन्तै दुःखद हो भन्ने तर्कलाई कवितामार्फत उजागर गरिएको छ । लोक लयमै रचना गरिएको यस कवितामा कविले ईश्वर, गरिब र साहुलाई त्रिकोणबाट सम्बोधन गरी मूलतः गरिबकै बाध्यतालाई उजागर गर्ने प्रयत्न गर्नुभएको छ।
कवि लेख्नुहुन्छ- रातो दिन काम गर्छन् पेट सधैँ खाली
आत्मीयता मित्रजन भित्र मन जाली
भर पायौँ हामी सबै ईश्वर पुकारेर
खोक्रो दिल बाहिर सफा गरी रुवाएर
गरिब त्यो कस्तो छ हेर ,आधा पेट सधैं नै खाएर।।
मान्छेः झ्याउरे लयमा संरचित यस शीर्षकको कवितामा कवि अधिकारीले मानवीय स्वभाव एवं प्रवृत्तिप्रति तीव्र व्यङ्ग्य प्रहार गरेका छन्। परिवारलाई भोकभोकै राखेर आफू सर्वद्रष्टाहुँदै चौक ,चौतारा अनि गल्लीका पसल पसलमा गई गफ चुट्दै सिङ्गो देश आफूले बनाउने अभिभारा लिएको ठानेर दुनियाँलाई अचम्मित मात्र होइन भ्रमित समेत बनाउने त्यस्ता व्यक्तिहरूलाई महागफाडीको संज्ञा दिँदै तिनीहरूबाट सतर्क रही आफ्नो बौद्धिकतालाई त्यस्ता व्यक्तिहरूसँग बहस नगरी सञ्चित गरेर राख्न समेत कवितामा आग्रह गरिएको छ । कवि कवितामा त्यस्ता महागफाडीहरूको चरित्रलाई यसरी समुद्घाटन गर्नुहुन्छः
परिवारजन भोकभोकै बस्छन्, झुपडी- घरमा
आमाले भन्छिन् बिरक्त मानी दुखि यो करम
समयछिने सुवर्ण फल्छ उसले जानेन
साथीभाइ समाज सबैले भन्दा कहिल्यै मानेन।।
हिमालका जडीबुटीः यस सङ्ग्रहको अत्यन्तै सुन्दर राष्ट्रवादी कविता हो यो। यस कविताले प्रकृतिले सुसज्जित हाम्रो देश नेपाल अनेकन् जडीबुटीहरूको सङ्ग्रहालयसमेत हो। यसको संरक्षण अनि सम्बर्धन गर्न ढिलो गर्ने हो भने हामीले हाम्रा जडीबुटी मात्र गुमाउँदैनौं अनन्त रोगको भण्डार भित्र्याई हरेक नेपालीहरूलाई कमजोर बनाउँदै राष्ट्रियतामा समेत आघात पुर्याउन सक्ने कुराप्रति बेलैमा सचेत गराएको छ। लोकलयकै प्रयोग गरिएको यस कवितामा कविले हिमालका जडीबुटीका साथसाथै हाम्रो देशको प्रकृति, हाम्रो देशको संस्कृति अनि हाम्रो देशको जलसम्पदाका बारेमा समेत उल्लेख गरी ती सम्पदाहरूको सुरक्षार्थ सबै लाग्न आग्रह पनि गर्नुभएको छ । कवि लेख्नुहुन्छः
हिमालका जडीबुटी प्रयोगामा ल्याऊ
शरीर स्वच्छ बनाउन ओखती यो खाऊँ।
सुन्दर देश रमाइलो नेपाल यो हाम्रो
उत्तरमा सगरमाथा हेर कति राम्रो।।
छन्द र अक्षर: यस संग्रहमा रहेका अधिकांश कविताहरू लोकलय, झ्याउरेलय, अनि गीतिलयमा संरचित भएपनि प्रस्तुत ´´छन्द र अक्षर” शीर्षकको कविताले भने शास्त्रीय छन्दमा कविताको संरचना गर्दा प्रयोग गरिने अक्षरसङ्ख्या एवं गणहरूका बारेमा जानकारी गराएको छ। कवितामा मालिनी, पञ्चचामर ,बसन्ततिलका, सालिनी, स्वागता, शार्दूलबिक्ीडितम्, शिखरिणी, अनुष्टुप, उपजाति, वंशस्थ ,तोटक, भुजङ्ग प्रयात लगायतका छन्दहरूमा प्रयोग हुने अक्षर संख्याका बारेमा कविताले यसरी उल्लेख गरेको छः
सत्र अक्षर रहेका छन् शिखरिणी महाँ
अनुष्टुप साेर अक्षर गन्दै जाऊ त्यहाँ।
उपजाति एघार छन् वंशस्थमा बाह्र
टोटकमा बाह्र सम्झ हुने छैन गल्ती।
विद्याको महिमाः सार्दूलबिक्रीडित छन्दमा संरचित यस कविताले विद्याको महत्त्व, महिमा एवं आवश्यकतालाई समाज सामु पुर्याउने जमर्को गरेको छ। सारमा कविले यस कविताका माध्यमबाट´´ विद्या विहीनम् पशु “भन्ने सारगर्भित सन्दर्भलाई उल्लेख गर्दै ठूलो मान्छे र असल मान्छे बिचको खास सन्दर्भ ज्ञानका माध्यमले मात्र छुट्याउन सक्ने भएकोले समाजलाई ठूला मान्छे नभएर ज्ञान आर्जन गरेका ज्ञानी मानिसहरूको आवश्यकता रहेको तथ्यलाई उल्लेख गर्नुभएको छ। कवि विद्याको महत्त्वलाई यसरी प्रस्तुत गर्नुहुन्छः
विद्या नै रसिलो छ विश्वभरमा मानिसको चेतना
विद्या सिक्न सकौँ अनेक तरहले यही हो ठूलो साधना।
विद्यालय ममता सिकाउँछ नयाँ बन्धुत्वको भावना
सारा पढ्न सकून् बुझेर महिमा मेरो यही कामना।।
रित्तो हातः यस कविता सङ्ग्रहको मूल कविता एवं सङ्ग्रहकै नामाकरण गरिएको यस कविताले सङ्ग्रहका सबै कविताहरूको प्रतिनिधित्व हुने गरी भावबोध गरेको पाइन्छ। शिक्षा सेवा मात्र नभई जीविकोपार्जनको एक महत्वपूर्ण माध्यम पनि हो। यसले समयसँगै मानिसहरूलाई बाँच्न सिकाउँछ भने यो पेसाका रूपमा आबद्ध भइसकेपछि जीवनको उत्तरार्धमा शिक्षासेवी व्यक्तिहरूलाई बाँच्नका लागि आधारसमेत तयार गरिदिने अपेक्षा समेत राख्न सकिन्छ तर जीवनकालकै सम्पूर्ण ऊर्जा अनि जोशलाई यसै क्षेत्रमा खन्याएको मान्छेले जब ६ बसन्त पार गर्छ तब रित्तो हात फर्कनु पर्दाको पीडा स्वयं उसैले मात्र व्यक्त गर्न सक्छ, भनिन्छ नि´´ अचानोको पिर खुकुरीलाई के थाहा!” ठीक यस्तै भएको छ कविको जीवनमा पनि। ३५ वर्ष एउटै विद्यालयमा अविच्छिन्न रूपले शिक्षकको रूपमा काम गरी बिना उपदान रित्तो हात फर्कनु पर्दाको पीडा उनले यस कवितामार्फत व्यक्त गरेका मात्र छैनन् हाल देशभरका विभिन्न विद्यालयहरूमा कार्यरत निजी एवं अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूको मनोदशालाई नजिकबाट पढ्दै भोलि उनीहरूको पनि यो अवस्था नआओस् भन्नका लागि सतर्कताको घन्टीसमेत बजाइदिने काम गर्नुभएको छ। कवि आफूले ३५ वर्षपछि रित्तो हात फर्कनु पर्दाको पीडालाई कविता मार्फत यसरी व्यक्त गर्नुहुन्छः
पैँतीस वर्ष काम गरेँ हात भयो खाली
परोपकार गर्दै जाँदा आत्मबल पाली।
खान लाउन केही छैन पर्यो मनमा पिर
अभाव र छटपटीले गढ्यो मनमा तीर।।
बुढेसकालमा साथी हुने छैन पेन्सन पट्टा
शूल बनी छातीभित्र गढ्यो तिखो कट्टा।
आशा गरी जागिर गर्दा खोजेँ मिठो साथ
हात लाग्यो शून्य भयो, भयो रित्तो हात।।
कुर्सीः यस शीर्षकको कविताले राजनीतिक विषयवस्तुप्रति चासो राख्दै कुर्सीमा बसेर पनि जनताहरूलाई नदेखेझैँ गर्ने पदलोलुप नेताहरूप्रति व्यङ्ग्य गरेको छ। कवि राजनीतिलाई नै फोहोरी खेल मान्नुहुन्न ,बरु राजनीतिका नाममा फोहोर गर्ने नेताहरूको चरित्रप्रति चाहिँ आक्रोश व्यक्त गर्नुहुन्छ। कविका विचारमा राजनीति समुद्र जस्तै हो। जसरी समुद्रमा अनन्त जीवहरूदेखि लिएर बहुमूल्य धातुसमेत प्राप्य छन् त्यसरी नै राजनीतिमा पनि धमिरा र किराहरूदेखि लिएर हिरासम्म सबै प्राप्त छन् भन्ने बुझाई कवि रूपीकविताको देखिएको छ।
बेइमानी र फटाहहरू यहाँ कोही छैन
भन्ने गर्छन् नेताहरू शान्ति छाउने होइन।
भ्रष्टाचार र महङ्गीले हिमालचुली छोयो
सोझा साझा जनताको भित्री आत्मा रोयो।।
सारमाः
रित्तो हात कविता सङ्ग्रह कवि कृष्णप्रसाद अधिकारीको प्रकाशित पुस्तकाकार कृतिका रूपमा पहिलो भएपनि सङ्ग्रहका कविताहरू लयका दृष्टिकोणले अनि भाव सौन्दर्य तथा शब्दगत वस्तु विन्यासले पनि अत्यन्तै अब्बल छ भन्न सकिन्छ। शास्त्रीय छन्दमा समेत सुन्दर कविताहरूको सृजना गर्न सक्ने र गरिरहेका कवि अधिकारीले प्रस्तुत कृतिमा लोकलय, झ्याउरेलय, तथा गीतिलयलाई प्रमुख स्थानमा राखी अन्त्यानुप्रासको सुन्दर प्रयोग पस्किई सबै तहका पाठकहरूलाई कविताको सौन्दर्यमा चुर्लुम्म डुबाउन सक्ने जुन हैसियत राख्नुभएको छ त्यो अत्यन्तै सराहनीय छ। उत्तरआधुनिक कठोर शब्दहरू खेलाउन पल्किएका कविहरूका लागि समेत प्रस्तुत सङ्ग्रह उपयोगी साबित भएको छ किनकि अप्ठ्यारोमा खेल्नु मात्रै काव्य साधना होइन, सजिलोमा खेलेर सजिलैसँग परिणाम निकाल्नु पनि काव्य साधना हो। त्यसकारण कवि सजिलोमा खेलेर काव्य साधकका रूपमा स्थापित भइसक्नुभएको छ। प्रकाशोन्मुख कविता सङ्ग्रह´´ सुभाङको सेरोफेरो” तयारी अवस्थामा रहिरहेको परिप्रेक्षमा कवि कृष्णप्रसाद अधिकारीप्रति थप सुदृढ एवम् सार्थक सङ्ग्रहको अपेक्षा राख्दै लेखनीलाई विश्राम दिइन्छ। अस्तु