केही दिनअघि विश्व संस्कृत दिवस भव्य कार्यक्रमका वीच देश र विदेशमा मनाइएको छ । संसारमा भाषा जन्मने, विकसित हुने र समृद्ध बनेर समाजको हितार्थ प्रयोग गरिने आम नियमझैं बनेको छ । तर विविध कारणले कतिपय भाषा लोप भएर पनि जान्छन् । भाषालाई जीवित र मृत भाषा भनेर छुट्याइन्छ । संस्कृत पृथ्वीको सबैभन्दा प्राचीनतम् भाषाहरू मध्येको एक हो । यो भारोपेली भाषा परिवारमा वर्गीकृत छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग गरिन्छ । यो दुनियाँको सबैभन्दा पुरानो उल्लेखित भाषाहरूमध्ये एक हो । सनातन हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् । प्राचीनतम् ग्रन्थ ‘ऋग्वेद’ संस्कृत भाषामा नै रचिएको हो । त्यस्तै अन्य वेदहरू यजुर्वेद, सामवेद र अथर्ववेद पनि संस्कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो, जुन करिब ई.पू. ५०० मा रचिएको थियो भनेर मानिन्छ । अधिकांश मानिस पाणिनिको अष्टाध्यायीबाट काव्य संस्कृतको आरम्भ मान्दछन् । अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो । यस भाषामा रचना गरिएको अमरकोश प्राचीनतम् शब्दकोश हो । सनातन हिन्दू तथा बौद्ध धर्मका प्रायः जसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन् । संस्कृतको प्राचीनतम् रूप वैदिक संस्कृत हो जो हिन्दू धर्मको प्रमुख ग्रन्थ वेदको भाषा हो ।
संस्कृत भाषाको महत्त्व शब्दमा उल्ल्ेख गर्न सजिलो छैन । संस्कृत भाषा संसारका भाषाहरूमध्ये सर्वाधिक ओजिलो र विपुल भण्डार भएको भाषा हो, तर नेपाली समाजमा संस्कृत भाषालाई एकाधिकारवादी, ब्राम्हणवादी, सामन्तवादी र राजतन्त्रवादी राज्यव्यवस्थाको पक्षपोषण गर्ने अस्त्रको रूपमा मान्ने ठूलो तप्का छ । संस्कृत प्रयोग गर्नेले पनि त्यसै गर्छन् र बुझ्नेले पनि त्यस्तै बुझ्छन् । भाषा र राजनीतिको वीचमा कुनै पनि सम्बन्ध हुँदैन वा हुनुहुँदैन भनेर निरपेक्ष दृष्टिकोण निश्चय नै गलत हो । तथापि संस्कृत भाषाको महत्त्वलाई न्यूनीकरण गर्ने र महत्तालाई नजरअन्दाज गर्ने सोच र संस्कार गलत मात्र होइन, आत्मघाती र विध्वंशकारी छ । संस्कृत भाषा शुद्ध संस्कारित परिष्कृत भाषा हो । संस्कृत भाषा विश्वको प्राचीनतम् एवं समृद्ध भाषा हो । यो भाषा सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताले भरिएको कारण अन्य भाषाको तुलनामा सर्वश्रेष्ठ रूपमा सुशोभित छ । सर्वाधिक एवं महत्त्वपूर्ण साहित्यको धनी भएकाले यस भाषाको श्रेष्ठतामा कुनै विवाद छैन । संस्कृत केवल स्वविकसित भाषा होइन अपितु संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो । संस्कृत केवल भाषा मात्र होइन, संस्कृत एक विचार हो, क्रान्ति हो, जीवनी शक्ति हो । संस्कृत नै संस्कृति हो र संस्कार हो । भेदभाव आदि सङ्कीर्ण मनस्थितिबाट माथि उठ्न संस्कृत भाषाले सहजीकरण गर्छ । यो भाषा पूर्वीय दर्शनको संवाहक हो । तर यसप्रतिको बुझाइ गलत छ, तसर्थ गलत भाष्य सच्याउन जरुरी छ ।
रामायण, महाभारत, उपनिषद् र पुराण लगायतका काव्य संस्कृतमा लेखिएका छन् । संस्कृत भाषाको व्याकरण अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ । धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्यहरूले संस्कृत व्याकरणमा धेरै नै लेखेका छन् । किन्तु पाणिनिको संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ । पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरणशास्त्री हुन् । उनको जन्म नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउँपालिकामा भएको मानिन्छ । यो नेपालीका लागि गौरवको विषय हो । संस्कृत विश्वको सबैभन्दा पुरानो पुस्तक वेदको भाषा हो । यस कारण यसलाई विश्वको प्रथम भाषा मान्न सकिन्छ । यसको सुस्पष्ट व्याकरण र वर्णमालामा वैज्ञानिकता छ । यो भाषा सर्वश्रेष्ठ सर्वाधिक महत्वपूर्ण छ, किनभने यो भाषामा विपुल साहित्यभण्डार छ । यसको महत्ता निर्विवाद भएकाले यसलाई देवभाषा मानिन्छ । अनुसन्धान र शोधबाट प्रमाणित भएको छ—संस्कृत पढनाले स्मरण शक्ति बढ्दछ । यो भाषा विश्वको सर्वाधिक पूर्ण एवं तर्कसम्मत भाषा हो । पश्चिमाहरूको परिभाषामा हाल यो भाषालाई मृतभाषा मानिन्छ किनभने यो भाषा बोलचालमा चलनमा छैन, तर भारत र इण्डोनेसियाका केही ठाउँ र नेपालका पनि केही ठाउँमा यो भाषा बोलिन्छ ।
हाम्रो संस्कृत भाषाप्रतिको बुझाइ एकलकाँटे र एकाङ्गी रहेको छ । यो सत्ताधारीको भाषा, सामन्तवादको प्रतीक राजाको गुलामी गर्ने भाषा र राजतन्त्रप्रति भक्तिभाव गर्न र वैज्ञानिक युगमा पनि रुढीवादितालाई प्रश्रय दिने भाषा भनेर हेरिन्छ । यस्तै आरोपमा नेपालमा संस्कृत भाषाको पठनपाठनलाई निरूत्साहित गर्ने गरिएको छ । प्रश्न छ—के अङ्ग्रेजी वा हिन्दी वा जर्मन वा स्पेनिस भाषाले कतै पनि रूढीवादितालाई स्थान दिँदैनन् ? संसारका विकसित देशका भाषाहरूले पनि असमानता, विभेद र पक्षपातलाई प्रश्रय दिएका धेरै दृष्टान्त पेश गर्न सकिन्छ । संस्कृत भाषालाई आधार बनाएर जनतालाई दिग्भ्रमित गर्ने र महान् सभ्यता बोकेको भाषाको गरिमालाई प्रत्यक्ष—परोक्ष रूपमा होच्याउने आम प्रचलन रहेको छ । हुन पनि संस्कृत भाषाको ज्ञानलाई पूजापाठमा मात्र सीमित गरिएको छ । पुरेत्याइँ र पण्डित्याइँले मात्र संस्कृत भाषा समाजोपयोगी हुन सक्दैन र यसले दीर्घ जीवन पनि प्राप्त गर्दैन । वास्तवमा संस्कृत सबै जसो दक्षिण एसियाली देशहरूमा रहेका भाषाहरूको जननी हो । यिनको अधिकांश शब्दावली संस्कृतबाट लिइएका छन् वा संस्कृतबाट प्रभावित छन् । राज्यको प्रबल इच्छाशक्ति भएमा संस्कृतलाई हिब्रु जस्तै पुनः प्रचलित भाषा पनि बनाउन सकिन्छ । अर्को महत्वपूर्ण कुरा हिन्दू, बौद्ध, जैन आदि धर्महरूका प्राचीन धार्मिक ग्रन्थ संस्कृतमा छन् । हिन्दुहरूका सबै पूजापाठ र धार्मिक संस्कारको भाषा संस्कृत नैं छ । हिन्दु, बौद्धहरू र जैनहरूका नाम पनि संस्कृतमा आधारित हुन्छन् । दक्षिण एसियामा बोलिने धेरै भाषाहरूको प्राविधिक शब्दावली पनि संस्कृतबाट नैं व्युत्पन्न गरिन्छ । संस्कृत साहित्य अत्यन्त प्राचीन, विशाल र विविधतापूर्ण छ । यसमा अध्यात्म, दर्शन, ज्ञानविज्ञान र साहित्यको विशाल भण्डार छ । सनातन वैदिक धर्मलाई अहिले हिन्दु धर्म पनि भनिन्छ र यस धर्ममा गर्भाधान देखि अन्त्येष्टिपर्यन्त षोडश संस्कार संस्कृतमा नै हुन्छन् । त्यसैले संस्कृत भाषा समृद्ध छ । जैन एवं महायानी बौद्धहरूको समस्त विशाल साहित्य संस्कृतमा नै छन् । विचार–विस्तार, भाषण को माध्यम संस्कृत नै हो । संस्कृत साहित्यले ‘वसुधैव कुटुम्बकम्’ को भावनालाई उद्बोधन र महिमामण्डित गरेको छ । संस्कृत भाषा नेपाली भाषाको जननी हो । संस्कृतको ज्ञान बिना नेपाली भाषा शुद्ध बोल्न र लेख्न सकिदैन र नेपाली भाषा र साहित्यको विकास र प्रतिष्ठा स्थापित हुन सक्दैन । नेपाली भाषाको आत्मा संस्कृत मै बसेको छ । नेपाली भाषाको क्षेत्रमा मात्र होइन, हाम्रो संस्कृतिको प्रभावकारी आधार पनि संस्कृत भाषा नै हो । अन्य भाषाको तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ । स्पिच थेरापीमा संस्कृत सहयोगी सिद्ध हुन्छ र एकाग्रता बढाउँछ ।
नेपाली भाषाको जननी भाषा संस्कृत हो, तसर्थ नेपाली भाषाको रक्षा, विकास र समुन्नतिका लागि संस्कृत जीवित हुन आवश्यक छ । बाह्य र घरेलु सीमित आगन्तुक शब्दभण्डारका सहायताले नेपाली भाषा मौलाउन र जीवित रहन सक्दैन । संस्कृत केवल स्वविकसित भाषा होइन अपितु संस्कारित भाषा हो त्यसैले यसको नाम संस्कृत हो । तर आजको मानसिकता संस्कृतप्रति अनुदार छ र यो मानसिकता अङ्ग्रेजी र अन्य पश्चिमा भाषाहरूमार्फत भएको आर्थिक, सांस्कृतिक, सामाजिक हस्तक्षेप र प्रभावका कारण भएको मान्न सकिन्छ । संस्कृत भाषाका समर्थकहरू संस्कृतलाई ‘मृत’ भाषा भनेर सम्बोधन गरेकोमा दुःख मान्छन् र भन्छन्, ‘सूर्य उदाएर उज्यालो छर्दा पनि अन्धकार देख्नु सूर्यको दोष होइन ।’ उनीहरू संस्कृतलाई समर्थ, सरस, सरल र अमर भाषा मान्दछन्, जुनकुरा साँचो पनि हो । संस्कृत भाषाको रक्षा र उन्नतिमा नागरिक र राज्यस्तरबाट योगदान हुनु जरुरी छ । दश वर्षे माओवादी द्वन्द्वकालीन अवधिमा संस्कृत विद्यालय बन्द गर्ने, विद्यालयहरू आगजनी गर्ने, स.सकृत पढाउने गुरुलाई रुखमा बाँधेर हत्या गर्ने जस्ता नेपाली सभ्यतामाथि आगो झोस्ने कार्य अमिलो स्मृति मात्र बनोस् र तीतो इतिहास मात्र बनोस् । त्यस्ता जननीलाई जिउँदै जलाउने कृत्यको पुनरावृत्ति हुने छैन भन्नेमा हामी आशावादी बनौं । संस्कृत साहित्यमार्फत पन्पिने रुढी, ढोङ्गी परम्परालाई त्याग्दै र कतिपय अवस्थामा परिष्कृत गर्दै संस्कृत साहित्य भण्डारमा भएका वैज्ञानिक, जीवनवादी र मानवतावादी सोच, दर्शन र विचारलाई समयसापेक्ष रूपमा मनन गर्दै आजको परिवेशलाई सुसम्पन्न र सुसंस्कृत बनाउन प्रयत्न गर्नु बढी वस्तुवादी हुन्छ । नास्तिकताका नाममा वा फरक धार्मिक पन्थ पछ्याइएको नाममा संस्कृत भाषालाई बेवास्ता गर्नुभन्दा भाषाको संरक्षण गर्दै वैदिक, प्राचीन र संस्कृत साहित्यको विपुल भण्डारलाई मुलुक, मुलुकवासी र वैश्विक हितमा सदुपयोग गर्नु बढी बुद्धिमानी हुन्छ ।