Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “आर्यघाट -सन्त्रास र भोलिका मान्छे” कथा
    कनकाई नगरपालिका

    “आर्यघाट -सन्त्रास र भोलिका मान्छे” कथा

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र ८, शनिबार १३:१५ गते11 Mins Read

    “मैले यसलाई पशुपति क्षेत्रको परिवेश भनेको छु। अरु के भन्छन्, कसैलाई सोध्न आवश्यक ठान्दिन।”

              यसो भन्दा उसले सुस्केरा हालेन, न त पशुपति क्षेत्रमा कतै आँखा डुलायो । एक टकले मलाई हेर्दै फेरि थप्यो। “यदि तपाईँ यस क्षेत्रको परिचयलाई थप बुझ्न चाहनुहुन्छ भने यो क्षेत्र पशुहरूले मान्छेसँग सिक्ने र मान्छेहरूले पशुलाई सिकाउने क्षेत्रको रुपमा समेत परिचित छ। अनन्त बाबाधारी भेषमा सजिएका सु- बाबादेखि छद्म भेषधारी कु-बाबासम्मको सङ्ग्रहालय हो पशुपति क्षेत्र। भर्खरै विचार, निष्ठा, सिद्धान्त सब भत्किएका पण्डितले स्वर्गको गम्भीर यात्रा अनि खोजमा दौडिएका सु वा कुमानवहरुलाई जिउँदै स्वर्गगमनको टिकट काटिदिई यहाँबाट आफूचाहिँ पन्चेबाजाका साथ बिदाइ भए।” यसो भन्दा उसले पशुपति क्षेत्रतिर हेरेर मुसुक्क हाँस्यो।

          करिब ४५ वर्षजतिको एक अधबैँसे व्यक्ति हुँदो हो ऊ। केही दिनदेखि ऊ मेरो फुर्सदको समयको अनन्त मित्र भएको छ। मैले उसको गफको स्वाद लिन केही दिनदेखि साँझको ५:०० बजेदेखि ७ बजेसम्मको समयलाई छुट्याएको छु। ऊ बाग्मती पारिको एक नाङ्ले व्यापारी हो। उसलाई यस क्षेत्रको परिवेशको २० बर्से अनुभव कण्ठस्थ छ। ऊ मलाई यहाँका परिवेशका कुराहरू छिट्टै बुझाउन चाहन्छ। छोटो समयमा मलाई पशुपति  क्षेत्रको सम्पूर्ण कुराहरू सुनाइसकेर आफू हल्का हुन खोजेको अनुभव गर्छ।

               आज पनि ऊ मसँग छ। अर्थात् ऊ र मसँगै छौँ। उसका अघि एउटा नाङ्लो छ। त्यो नाङ्लोमा आधा जति बदाम छ भने बाँकी भाग अन्य खुद्रा सामानहरुले भरिएका छन् । एक बोतल पानी बेचिसकेको उसले भन्यो´´ हेर्नुस् न यो काठमाडौँमा एक बोतल पानी बेच्न पनि लामो बार्गेनिङ गर्नुपर्छ। हुन पनि कसरी नपरोस् शुद्ध पानी भनेर डाइरेक्ट धाराको पानी हाली बोतलमा सिलप्याक गर्ने चलनले अब त काठमाडौँको विश्वास पानीबाट समेत हटिसकेको छ।”

              उसले फेरि अर्को एक बोतल पानी बेचिसकेपछि मेरो अनुहारतिर हेर्दै थप्यो´´ तपाईँ त यहाँका लागि नयाँ मान्छे, हरेक चिज जोगिएर खानुहोला! सक्नुहुन्छ भने काठमाडौँमा केही पनि नखानुस्।” आमाले सानु नानीलाई यात्राका क्रममा सम्झाएको भावमा उसले मलाई सम्झायो। यसो भनेपछि उसले मेरो अनुहारतिर पुलुक्क हेर्यो र हतारमा  ग्याटिस निकालेर बदाम चोर्न आएको नजिकैको बाँदरलाई ताक्यो। बाँदर अनुहार बिगार्दै भागेपछि फुर्सदको स्वरमा  मलाई थप्यो´´ खै, बाँदरलाई पनि के गाली गर्ने! मान्छेबाटै दीक्षित भएका न हुन् यिनीहरू पनि।”

          आर्यघाटबाट मानव- गन्ध मिश्रित दुर्गन्धित हावा बगिरहेको थियो। तर पनि उसलाई त्यो हावाको कुनै परवाह थिएन। चढ्ने, झर्ने स्वदेशी, विदेशी दुबै खाले पर्यटकहरुलाई ऊ टक दिन्थ्यो तर “किनिदिनुस्” भनेर आग्रह गर्दैनथ्यो।

            मेरा आँखा आर्यघाटतिर लहसिएको देखेर उसले मलाई सम्झाएको स्वरमा भन्यो “थुप्रै मान्छे जल्छन् यहाँ, अलि सम्पन्न आए भने तीन चौथाई जल्छन्, सम्पन्न ल्याइयो भने पुरै जल्छन् तर गरिब गुरुवाहरु कुनै आधा जल्छन् त कुनै कटमिरो जलेपछि हुत्याइन्छन्। भगवान् पशुपतिनाथले जिउँदामा त न्याय गरेनन्- गरेनन् मरेपछिको यो अन्याय देख्दा पनि बेलाबेलामा त दिक्क लागेर आउँछ।”

          मैले अनुभव गरेँ “यो उसको आन्तरिक नाद हो। अर्थात् ऊ यो बागमतीको डिलमा बसेर सबै मरेकाहरुलाई आफन्त ठान्दो रहेछ। हरेक मानवगन्ध समेत उसको मूल्याङ्कनको कडी हुँदो रहेछ।”

          उसले पर जल्दै गरेको एक लाशलाई देखाउँदै भन्यो”त्यो ल हेर्नुस् त, एक्लै जलिरहेको छ। मानौँ उसलाई कसैले ल्याएको होइन आफैँ आएर जलेको हो। त्यसको अलिक मुन्तिर हेर्नुस् त, सयौँको सङ्ख्याको घेराबन्दीका बीच अर्को लास जलिरहेको छ। उदेक लाग्छ, लासहरूका िबचको जल्ने कुरामा पनि प्रतिस्पर्धा देखेर।” मैले थपेँ´´जीवनहुँदै मृत्युपछिको सम्पन्नता र विपन्नताकै प्रतिस्पर्धा होला सायद यो पनि।”

         यो पटक मेरा कुराले चित्त बुझेर होला। उसले खित्का छोडेरै हाँस्यो र हतारिँदै थप्यो´´ मृत्युमा सम्पन्नता र विपन्नता िबचको त्यत्रो दुरी के रह्यो र हेर्नुहोस्!दुबै जल्दैछन्, दुबैको गन्ध समान छ, फरक यति हो! एउटा  एक्लो र अर्को धेरैका घेराबन्दी बिच।”

           मैले उसको उत्तरलाई न त सक्कार्न सकेँ न त नकार्न नै किनकि मेरा आँखाहरूले अर्को एउटा फरक बिम्बलाई नियालिरहेका थिए। दृश्य बडो ताजुबको तर रङ्गीन थियो। वस्त्रहीन( गुप्ताङ्ग मात्र छोपेको) जोगीले जबरजस्ती पर्यटकलाई आफ्नो तस्बिर लिन जिरह गरिरहेको थियो। पर्यटक आफ्नो सेतो अनुहार यताउति घुमाइरहेको थियो भने म जस्तै अन्य केही पात्रहरू त्यो दृश्यलाई आनन्द मानीमानी हेरिरहेका थियौँ । त्यो गोरे पर्यटकको अनुहार रातो भएर आयो। सुरुमा उसले जोगीको कुरा बुझेन। जब जोगीले इशाराका माध्यमबाट आफ्नो फोटो लिन आग्रह गर्यो तब गोरेको अनुहार उज्यालो देखियो। जोगीले बस्त्रहीन शरीरभरि खरानी घसेको भागलाई फरक फरक कोणबाट पोज दियो। गोरेले पनि अनेक कोणबाट जोगीको फोटो लियो। जोगी प्रसन्न मुद्रामा गोरेलाई पोज दिएपछि ओरालो लाग्यो र जीर्ण मन्दिरभित्र प्रवेश गर्यो। गोरे पनि ठूलो झन्झटबाट मुक्त भएको अनुभव गरी ओरालो झर्यो।

           झट्ट हेर्दा दृश्य लौकिक थियो। तथापि हेर्नेहरूका लागि भने यो अत्यन्तै अलौकिक लाग्दथ्यो। दृश्यको समाप्ति पश्चात् अन्य मजस्तै पात्रहरूले के अनुभव गरे तर मेरो मन एकाग्र हुनै सकेन। भिड सकियो। बाटो खुल्यो तर मन भने खुल्नै सकेन। लाग्यो फेरि जोगी आओस् र मैले सोध्न सकूँ “ तिमी किन आफ्नो उदाङ्गो चित्र संसारभर छर्न चाहन्छौं?” प्रश्न उठ्यो, मनमै रह्यो र त्यहीँ बिलिन भयो।

        केही नयाँ दृश्य खोजिरहेका आँखाले एउटा शब्द पर भित्तामा पढ्यो´´खोज” हठात डाक्टर सञ्जीव उप्रेतीको “घनचक्कर” उपन्यासलाई सम्झिएँ। उनलाई यही शब्दले लामो समयसम्म तुलबुल्याएको थियो। अदमौरो बनाएको थियो अनि अचकल्टो बनाई  घाट -घाट हिँडाएको थियो। सोचेँ´´ उप्रेतीको भन्दा मेरो दिमाग काँचो छ अनि कान्छो पनि। त्यसैले यो शब्दको पछि दौडिएँ भने निश्चित म बहुला साबित हुनेछु।” मैले भित्तामा लेखिएको ´खोज` शब्दबाट आँखा हत्तपत्त हटाएँ तर मन केही अपुग कुरालाई माग्न खोजिरहेको छ जस्तो लाग्यो। म मेरो साथीलाई यसको सामान्य छिटा समेत देखाउन चाहन्नथेँ। त्यसैले मैले शब्दका विषयमा खोजीनीति गर्ने चासो राख्दै राखिँन।

         हामी दुबैसँगै छौँ। नाङ्लो उसको साथमै छ। ग्याटिसलाई पनि उसले छोडेकै छैन। सायद हामी सिँडीदार कुर्सीमा छौँ। म झसङ्ग भएँ। उही शब्द खोज? प्रश्नसहितको, मेरो औंलाले सुमसुम्याइरहेको। कसैले देख्छन् कि! भनेझैँ गरी मैले हत्तपत्त आफ्ना औंलाहरु त्यहाँबाट हटाएँ । तर यसपटक म मेरो मित्रबाट बच्न सकिन।´´ किन शब्दबाट तर्सनु भएको?” उसले प्रश्न गर्‍यो।

           मैले केही नबोली औंलाले शब्दतर्फ इङ्गित गरेँ। ऊ फिस्स हाँस्यो र भन्यो´´ जाबो शब्दसँग मैले त बिच्छीले नै टोकेछ भन्ने अनुमान गरेको थिएँ।” “हो! वास्तवमै मलाई बिच्छीले टोकेभन्दा कम टोकेको छैन यो शब्दले।” मैले यसो भनेपछि उसले फेरि थप्यो।´´ तपाईं तर्सनुहुन्छ म त केही वर्षदेखि यो शब्दलाई नै ओछ्याएर बसेको छु। कति पटक त लमतन्न भएर सुतेको पनि छु। यस्ता शब्द जताततै छ्यापछ्याप्ती छन् ।अनसनका गल्लीदेखि लिएर रत्नपार्कका क्षेत्रहरू अनि हवाई पुलदेखि भक्तपुरको चेपाडाँडासम्म यिनै शब्दहरूले बुर्कुसी मारिरहेका छन्। वर्षौँदेखि खोजकै लागि खोज! खोज! भनेर चिच्याइरहेका छन् शब्दहरूले ।कति चिच्याए त्यो त अड्कल गर्न सक्छु तर शब्द पढ्ने पाठकले के खोज्यो त्यो चाहिँ भन्न सक्दिन।” उसका यी अभिव्यक्तिहरू यसरी आए मानौँ यसको कुनै अर्थ छैन। अर्थात् अर्थै नभएको अर्थ हो यो खोज।

           फेरि पल्लो कुनामा उही जोगीको आगमन हुन्छ। जोगीले आफ्ना पूर्ववत् कर्महरू आरम्भ गर्दछ। योपटक उसले आफ्नो तस्बिर लिन अथक प्रयास गराउँदा पनि गोरेहरू मान्दै नमागी त्यहाँबाट हठात् भाग्न सफल हुन्छन्। जोगी पनि निन्याउरो अनुहार देखाएर सिँडीमा टुक्रुक्क बस्छ। ऊ हरेक पर्यटकहरूको अनुहार नियाल्छ अनि आफ्नो आग्रह दोहोर्याइरहन्छ। म उसलाई प्रश्न गर्न चाहन्थेँ´´ तिमी आफ्नो नाङ्गो शरीर संसारलाई देखाउन किन चाहन्छौ? प्रश्न मनमा रहँदा रहँदै अचानक एउटा जँडियाको त्यहीँ आगमन हुन्छ।

        जँडिया हरेकको अनुहारहरु हेर्दै बरबराउन थाल्छ। उसका बरबराहटमा त्यत्रो अर्थ लाग्ने तर्कहरू त छैनन् तर पनि एउटा सत्यचाहिँ के छ भने उसले त्यहाँका हरेक नाङ्गले व्यापारीहरुलाई केही न केही सम्बन्धका आधारमा बोलाइरहेको छ। कसैलाई ऊ भाइ भन्छ, कसैलाई काकी, कसैलाई भाउजू त कसै कसैलाई छोरी पनि भन्दै सम्बोधन गर्छ। यो पटक उसको आँखा बस्त्रहीन जोगीमा ठोकिएको छ। उसले जोगीलाई पनि आदर गर्न भुलेको छैन। परैबाट चिच्याउँछ´´ ओहो! बाबाजी दर्शन गरे।”

          जोगी चकित त देखिँदैन तर पनि केही अप्ठ्यारो मानेर दर्शन फर्काउँछ। हठात् उसले जोगीको हात समाउँछ र भन्छ´´ अब तपाईँ कति वर्ष बाँच्नुहुन्छ? पाँच वर्ष ?” जँडियाको यो प्रश्नोत्तरले जोगीको अनुहार खस्छ। जोगी निकै रातो पिरो देखिन्छ र रिसाएजस्तो पनि गर्छ। तर जडियाचाहिँ अघिको भन्दा पनि उज्यालिएको छ। मानौँ उसले ठूलो विजय प्राप्त गर्यो। दुवैबीच केही समय सन्नाटा छाउँछ ।जडियाले पनि जोगीलाई आफ्नो हात हेर्न आग्रह गर्छ। अलि रिसाए जस्तो गरेर हात हेरेपछि जोगीले भन्छ ´´अब मात्र तिमी ४ वर्ष बाँच्छौ।” जडिया जोगीको जवाफमा पटक्कै मान्दैन। उसले आफ्नो आयु बढाउन जोगीसँग पटकपटक आग्रह गर्छ। उसले आफू बढी बाँच्ने तर्क राख्दै थप्छ ´´कमसेकम पनि म तपाईंभन्दा १० वर्ष कान्छो हुँला, कसरी म तपाईं भन्दा पनि एक वर्ष कम बाँच्छु?”

         तर जोगी मान्दैन मानौँ जोगीले जडियाको मृत्युको रेखा ऐनाझैँ छर्लङ्ग देखेको छ। रिसाएर जँडियाले थप्छ´´ हेरौँला को लामो बाँच्दो रहेछ?” जडिया उकालो लाग्छ पूर्ववत सम्बन्ध जोड्दै।

         मेरा मित्रलाई दुबैबीचको संवादले धेरै आकर्षित गरेको रहेछ। जँडियाको गमनपछि मेरो अनुहारतिर हेरेर उनले भने´´ रमाइलो लाग्यो।” जीवन -मृत्युबीचको बार्गेनिङ सम्भवतः मित्रको यो शब्द दौड मेरा लागि थियो होला। तर मेरा आँखाले खोजभन्दा पनि पर अर्को शब्द पढिसकेको थियो विद्रोह, क्रान्ति।

         भित्तामा लाम्चा अक्षरले लेखिएका यी दुबै शब्द मलाई भयङ्कर लागेनन् अनि अत्यासिला पनि किनकि विद्रोह र क्रान्तिले त सम्भवतः ३करोड नेपाली जनताको इच्छामा खेलिसकेका थिए। आज आएर विद्रोह र क्रान्ति त तर्जुमाका लागि मात्र आवश्यक भएको देखिन्छ किनकि यिनीहरू केवल नक्सामा मात्रै सीमित भएका छन्।

          दुईवटा बाँदरले मेरा मित्रको बदाम झम्टिरहेका छन्। गुलेली उनको हातैमा छ। ती दुबै बाँँदर भागेर अघि बढिसकेका छन्। एउटा गोरे पुनः उकालो लाग्छ। यसपटक दुबै बाँदरले गोरेलाई छेकेका छन्। मानौँ गोरेबाट बाँदरहरूले ठूलो अपेक्षा राखेका छन्। जसरी हाम्रा मान्य नेताहरूले विदेशीहरूबाट अपेक्षा राखिरहेका हुन्छन्। गोरेले बाँदर देख्नासाथ मुस्कान छाड्यो। लाग्छ उसले बाँदरहरूसँग आत्मीयता गाँसेको छ। बाँदरका अघि उसको क्यामेरा सोझिन्छ। बाँदरले पनि स्टाइल दिन्छन् क्यामेराका अघि। म सन्तुलित मूल्याङ्कनतर्फ लाग्छु। मेराे मानसपटलमा जोगी र बाँदर दुबै छमछम नाच्न थाल्छन्। बाँदर र जोगी ठिक मिल्दा छन्। आकृति, व्यवहार, तरङ्ग अनि स्टाइल पोज सबै उही छन्। ओहो! झस्किन्छु, नमिल्दो सोचाइ जस्तो लाग्छ। प्रश्न आफैं उठ्छ के साँच्चै! बाँदर र जोगी मिल्दाछन्? उत्तर बन्न खोज्छ´´ मिल्दाछन् धेरै दृष्टिले मिल्दाछन्। वंशजका आधारमा, व्यवहारका आधारमा, नीतिका आधारमा अनि वर्तमानका थुप्रै आधारहरुमा।” फेरि प्रश्न बन्छ´´ उसो हो भने त्यो जोगी पशुपतिको बाँदर नै हो त?” बहुरङ्गी उत्तर निक्लन्छ। जोगी बाँदर हो वा होइन भन्ने ठान्नुभन्दा पनि त्यो बाँदर जोगी हुन सक्छ भन्ने ठान्नु ठिक होला !

         आर्यघाटबाट निक्लिएको धुवाँको मुस्लोले मेरो मौनता भङ्ग गरिदिन्छ। मानव गन्ध मिश्रित धुवाँको मुस्लोले व्यापकता लिन्छ। मेरो मित्रलाई भने त्यसको असर नपरेको सहजै अनुभव गर्न सकिन्छ। लाग्छ उसले थुप्रै पटकको गन्ध पचाइसकेको छ वा पचाउने बानी परेको छ।

        पर बाक्लो भिडमा एउटा लास बोकिएको देखिन्छ। ´´म ठम्याउँछु महान् व्यक्तिको मृत्यु भएको हुनुपर्छ।” थुप्रै क्यामेराहरू लासका अघिपछि सोझिएका छन्। भिडमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। म अचम्म मान्छु, यो लासको सुरक्षाका लागि हो वा मलामीको सुरक्षाका लागि हो? लासको सुरक्षा भनौँ भने ऊ स्वयं एकलास मात्र हो। मलामीको सुरक्षा भनौं भने के मलामी माथि पनि आक्रमण हुन सक्छ ? प्रश्न रहिरहन्छ।

          अब लास  चितामाथि चढिसकेको छ। यसपटक दुर्गन्ध मिश्रित वायु बहेको छैन। बरु श्रीखण्डको मिश्रणलाई मन्द हावाले बहाइरहेको छ ।अचानक नारासहितको एक जत्था देखिन्छ। हो हल्लाका बीच ढुङ्गामुढा असिना बर्सेझैँ वर्षन सुरु हुन्छन्। भिडबाट कोही चिच्याएको सुनिन्छ।´´ लासमा राजनीति भयो यो हाम्रो पार्टीको मान्छेको लास हो।” परबाट ढुङ्गा प्रहार गर्दै अर्को व्यक्ति चिच्याउँछ´´ खबरदार! हाम्रो मान्छेमाथि बदनियत नराखियोस्। यसो गरियो भने यहाँ अर्को रक्तपात मच्छिन्छ।”

        आर्यघाट अब उग्रघाटको रुपमा परिणत भइसकेको छ। अब त यो घाट साँच्चै नै डरलाग्दो घाटमा रूपान्तरण हुनेछ। दुवैतर्फ हानाहान मच्चिन्छ। ढुङ्गा रहित पशुपति क्षेत्रमा असिना बर्सिएझैँ लाग्दछ। कहाँबाट ल्याइयो यी ढुङ्गा?

        अशान्त बनिसकेको यस क्षेत्रमा केही समयपछि गोली पड्किएको आवाज आउँछ। हामी आर्यघाट पारिका मानिसहरू पारिबाटै उकालो लाग्छौँ। परैसम्म गोली पड्किएको आवाजले हामीलाई छोडेको थिएन। मेरा मित्रले मेरो हठात् मलाई सम्झाउँदै भन्दै थिए ´´तपाईँ नयाँ मान्छे! त्यसैले तपाईँका लागि यी दृश्यहरू नयाँ हुन्। हेर्दै जानुस्! यहाँ लासमाथि राजनीति होइन लासले समेत मान्छेमाथि राजनीति गर्छ।”

        हिजोको अशान्त मलाई शान्त पार्न खोज्दै म अखबार पसलमा छिरेँ। राजधानीका सबै अखबारहरूले ठूलो अक्षरमा समाचार छापेका रहेछन्´´ लासमाथि झन्डा ओडाउने निउमा चर्किएको विवादले गोली चल्दा पाँच जनाको मृत्यु।”

         समाचार पढिरहेको एक पाठक म तिर हेर्दै जङ्गियो र भन्यो´´ यस घटनालाई हामी त्यत्तिकै छाड्दैनौँ। अझै रगतको खोलो बगाउँछौँ।” लाग्थ्यो यो घटना मैले घटाएको हुँ। र त्यो पाठक मलाई आरोप लगाइरहेको छ। उसका कुरालाई केहीले थप साथसमेत दिइरहेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई खबरको समाचार प्रभावः प्रयोग बिहीन कृषिको भवनमा अब वडा कार्यालय

    २०८३ बैशाख १३, आईतवार २१:२६ गते

    रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

    २०८३ बैशाख १२, शनिबार १२:४७ गते

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.