Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “फूल” कवितासङ्ग्रह ,सामान्य एक परिचय
    कनकाई नगरपालिका

    “फूल” कवितासङ्ग्रह ,सामान्य एक परिचय

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण १८, शुक्रबार १९:५२ गते9 Mins Read

    परिचयः

    कवि जीवनाथ सुवेदीद्वारा रचना गरिएको प्रस्तुत फूल नामक कविता सङ्ग्रह विभिन्न विषयमा तयार पारिएको एक उत्कृष्ट कविता सङ्ग्रह हो। वि.सं. २०१६ चैत्र १० गते हालको माई जोगमाई गाउँपालिका वडा नम्बर १ मा जन्मनुभएका कवि सुवेदीको प्रकाशित कविता सङ्ग्रहका दृष्टिले फूल, पहिलो कविता सङ्ग्रह हो । केही समीक्षाः २०७५, नामक समालोचना सङ्ग्रह प्रकाशित गरिसक्नुभएका कवि सुवेदी कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सह प्राध्यापक तथा सुरुङ्गाकै पशुपति अङ्ग्रेजी मा.वि.मा शिक्षक पदमा कार्यरत रही लामो समयसम्म शिक्षा सेवाको क्षेत्रमा आफूलाई समर्पित गरिसक्नुभएको छ। पुष्पस्मारिका २०६४, कनकाई बहुमुखी क्याम्पस रजत स्मारिका २०७३, गंगाप्रसाद उप्रेती स्मृतिग्रन्थ २०७४, कनकाई प्रवाहका विभिन्न तरङ्गहरूको सम्पादन गरिसक्नुभएका उहाँले विभिन्न पत्रपत्रिकाहरूमा दर्जनौं कविता, निबन्ध तथा समालोचनाहरू प्रकाशित गरिसक्नुभएको छ। हाल कनकाई प्रतिभा प्रतिष्ठान सुरुङ्गाको अध्यक्षको जिम्मेवारी सम्हालिराख्नुभएका उहाँ विभिन्न साहित्यिक गतिविधिहरूमा सक्रियरूपले आवश्यकीय सहभागिता जनाइराख्नु भएको छ।

    विषय प्रवेशः

    फूल, नामक कविता सङ्ग्रह कवि जीवनाथ सुवेदीको २०७८मा प्रकाशित पहिलो कविता सङ्ग्रह हो । गद्य एवं पद्य लयका गरी जम्मा ३५ वटा कविताहरू सङ्कलित यस सङ्ग्रहमा १० वटा गद्य लयका र २५ वटा पद्य लयका कविताहरू संरचित छन्। गद्यलयका कविताहरू पनि अन्त्यानुप्रासयुक्त, बिम्ब, प्रतीक एवम् आलङ्कारिक संयोजनमा तयार पारिएका कविताहरु भएका कारण लयबोध प्राप्त गर्न अत्यन्तै सरल, सहज अनि प्रियभाषी छन्। गुलाबको फूलद्वारा सुन्दर आवरणमा सजिएको सङ्ग्रहमा आदरणीय गुरु, समालोचक एवं साहित्यकार कोमलप्रसाद पोखरेलको ५३ श्लोकमा तयार पारिएको भूमिकाखण्ड रहेको छ जसमा कवि पोखरेलले कविता सङ्ग्रहका कविताका विषयमा मात्रै नभएर कवि जीवनाथ सुवेदीको पारिवारिक विषयमा समेत अत्यन्तै सम्प्रेषणीय ढङ्गबाट कलम चलाउनु भएको छ। कवि सुवेदी गुरु पोखरेलका विचारमा गहिरो ज्ञान भएका तर उक्त ज्ञानलाई बाहिर पदार्पण गर्न नचाहने व्यक्तिका रूपमा चित्रित हुनुहुन्छ। विशेषतः समीक्षा कार्यमा धेरै प्रवीण सुवेदीका समीक्षाहरू विभिन्न विद्वानहरूले रुचाएको सन्दर्भ पनि यसरी भूमिका खण्डमा प्रस्तुत गरिएको छः

    समीक्षा कार्यमा धेरै जीवनाथ प्रवीण छन्,

    कृतिकार यिनैलाई अधिकांश रुचाउँछन्।

    गहिरो यिनको प्रज्ञा सकिन्न देख्न बाहिर

    निष्णात भित्रका छन् यी समीक्षा गर्न माहिर।

    भूमिकाकार पोखरेलका विचारमा प्रस्तुत सङ्ग्रह आधुनिक, समसामयिक, विकृति तथा विसङ्गतिप्रति तीव्र व्यङ्ग्य बाण प्रहार गरिएको एक उत्कृष्ट कविता सङ्ग्रह हो। सङ्ग्रहभित्रका कविताहरूले प्रजातन्त्रका नाममा देखिने विसङ्गति, स्वार्थ लम्पटका नाममा देखिएको छद्मभेषीय देशभक्ति, कुकृत्यको जालझेल भोग्न तयार आजको मानिस एवम् हाम्रो समाजमा स्रष्टा बन्ने नाममा देखिएको देखासिखी प्रवृत्तिप्रति पनि त्यतिकै व्यङ्ग्य कसेको कुरालाई भूमिकाखण्डमा उल्लेख गरिएको छ। त्यस्तै स्वयम् लेखकले पनि प्रस्तुत कविता सङ्ग्रहका सन्दर्भमा आफ्ना भनाइहरूलाई प्रस्तुत गर्दै कविता लेखिनुका कारणहरू समेत प्रस्तुत गर्नुभएको छ। उहाँका विचारमा यस कविता सङ्ग्रहमा सङ्कलित कविताहरूले थोरै भएपनि साहित्यानुरागी पाठकहरुलाई खुराकीको काम गर्नेछ अनि नेपाली साहित्य सिन्धुमा एउटा बिन्दुको उपबिन्दु भन्दा पनि उपोपबिन्दुसम्म थपिएको ठानिने छ।

    यस सङ्ग्रहको लामो कविताका रूपमा आएको, आज बूढो भएँछु।, नामक कवितामा कवि सुवेदीले बाल्यकालका लोभलाग्दा अनुभव तथा ६ दशकपछिको शारीरिक उर्जाहरूमा क्रमशः आएको आलस्यताप्रति आत्मानुभूति प्रकट गर्नुभएको छ । हिजो कम्लाएका ती ऊर्जाहरू आज क्रमशः थारिँदै गएको अनुभूति कवि स्वयंमा देखिएको छ। मन्दाक्रान्ता छन्दका ११ श्लोकमा सिर्जित प्रस्तुत कविताले मानिसमा हुने तृष्णा, आशा, सुविधा ,जित मोहजस्ता कुराहरूले हरेक दिन उनी हरूलाई साँघुरो बनाउँदै लगेको र दुःखको भासमा डुबाएको तथ्य समेत उजागर गरिदिएको छ। यसका साथै कविताले अध्यात्मवाद र भौतिकवादप्रतिको चिन्तनलाई समेत प्रस्तुत गरी जीवनको अन्तिम सत्य भनेको भौतिकवाद नभई अध्यात्मवाद नै रहेको तथ्यलाई सांकेतिक रुपमा प्रस्तुत समेत गरेको छ। कवि भन्नुहुन्छः

    तृष्णा, आशा सुख र सुविधा जीतको मोह जालो

    आफूलाई पुगिसरि भए मात्र होस् अन्य पालो।

    लोभी स्वार्थी प्रतिदिनहुँदै आत्मकेन्द्री भएँछु

    गन्दा गन्दै दिन सब बिते आज बूढो भएँछु।।९

    आधुनिक परीक्षा, सङ्ग्रहको अर्को एक महत्त्वपूर्ण कविता हो। यस कविताले आधुनिक परीक्षा प्रणाली अन्तर्गतको पद्धतिमाथि रोष प्रकट गरेको छ। कविताले युग अनि मुलुक हाँक्ने भोलिका कर्णधारहरूको परीक्षा कति फितलो पद्धतिमार्फत चलिरहेको छ भन्ने तर्फ समेत सङ्केत गरेको छ ।अध्यापन गराउने गुरुहरू समेतको चारित्रिकतालाई पनि कविले व्यङ्ग्य गर्न छुटाउनु भएको छैन। झण्डै तीनदशक लामो कवि आफैँले विद्यालयदेखि स्नातकोत्तरतहसम्मको शिक्षण तथा प्राध्यापन अनुभव बोकेका कारण पनि उहाँ निकै मसिनो गरी आधुनिक परीक्षा प्रणालीप्रति भिजिसक्नुभएको छ ।तसर्थ प्रगतिपथ उन्मुख भविष्य बोकेका विद्यार्थीहरू उत्पादन गर्ने हो भने सबैभन्दा पहिले परीक्षा प्रणालीलाई नै सुधार्नुपर्ने उहाँको तर्क छ। मालिनी छन्दका ८ श्लोकमा संरचित कविताले परीक्षा लेखी पास हुने कुरालाई मात्रै मूल मन्त्र बनाउने हो भने देशले शैक्षिक जनशक्ति त उत्पादन गर्छ तर योग्य शैक्षिक जनशक्ति उत्पादन गर्न नसक्ने मिहीन सत्य उजागर गर्न सफल छ।

    लमकझमक गर्दै जाँच लेख्ने यहाँ छन्

    गुरु पनि नपढाई पास पार्ने अरु छन्

    कतिपय गुरु आफैँ योग्य चेला बिगार्छन्

    अलमल छल गर्दै काल व्यर्थै गुजार्छन्।४

    कठपुतली र रमिते, सङ्ग्रहको सुन्दर गद्य कविता हो। यस कविताले कठपुतली अनि पटपुतलीका माध्यमबाट नेपालको राजनीतिक एवं सामाजिक वस्तुस्थितिलाई उदाङ्गो गरी प्रस्तुत गरेको छ। सङ्ग्रहमा कठपुतली अनि पटपुतली दुवै प्रतीक हुन्। यिनीहरू वर्तमान नेपाली समाजका प्रतिनिधि पात्र मात्र होइनन् यिनै प्रतिनिधि पात्रहरूलाई नेपथ्यबाट कसैले नर्तकीका रुपमा प्रस्तुत गरिरहेको र तिनै नृत्यमा हामी मदमस्त भई लठ्ठी रहन पाउँदा पनि आफूलाई अहोभाग्य ठानिरहेकोप्रति कविताले सूक्ष्म रुपमा व्यङ्ग्य प्रहार गरेको छ। लाक्षणिक रूपमा कविले आफू सचेत रहँदा रहँदै पनि बाध्य भई यस्ता फगत नृत्यहरू हेर्न बाध्य हुनु परेकाप्रति असन्तोष प्रकट गर्नुभएको छ भने जबसम्म यी र यस्ता कठपुतली र पटपुतलीद्वारा परिचालित नाटकहरूको अन्त्य हुँदैन तबसम्म हामी सबैको हविगत यस्तै हुने कुरालाई पनि कविताले प्रस्तुत गरेको छ।

    नाटक भ्रमको चल्दासम्म

    हालत यस्तै हुन्छ

    चेत नखुल्दा रमिते सबको

    हविगत यस्तै हुन्छ।

    यस कविता सङ्ग्रहमा रहेको अर्को सुन्दर कविता हो, कर्मी मौरी, मौरी एउटा किरा हो। याृे अत्यन्तै कर्मी एवं सङ्घर्षशील हुन्छ। घन्टौँ टाढासम्म उडेर गई मह बटुल्ने मौरी अन्ततोगत्वा उसले भेला गरेको मह चुस्न नपाउने समेत बाध्यतामा ऊ पटकपटक परिरहन्छ, तथापि ऊ आफ्नो कर्ममा कहिल्यै थाक्दैन ,ठिक यही परिस्थितिमा तयार पारिएको कविता हो कर्मी मौरी। मौरीलाई यहाँ कविले विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरूसँग आरोप गरी उसले गर्नुपरेको सङ्घर्षको कथा तथा व्यथालाई प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ। कवि मौरीलाई कतै ढाक्रे, भरिया, ज्यामी, मजदुरसँग तुलना गर्नुहुन्छ भने कतै व्यापारीको स्टकसँग तुलना गर्नुहुन्छ, त्यसैगरी कवि मौरीलाई शिक्षालयको शिक्षक र कर्मचारीसँग तुलना गर्नुहुन्छ भने मौरीलाई नै कविले राजनीतिक पार्टीको कार्यकर्ताका रुपमा समेत तुलना गर्न छुटाउनु भएको छैन। सङ्घर्षका सम्पूर्ण पगरी आफू गुथ्न तयार हुने मौरी कसैको अङ्गरक्षक बन्नुपरेको छ त कसैको ढाल बनी उभिनु समेत उसैले परेको छ। रूप, रङ्ग भावनासमेत बदली दिनरात पहरा दिने कर्मी मौरी अन्त्यमा संघर्षपछि वीरगति पनि उसैले प्राप्त गर्नु परेको छ। तर पनि मौरी मौरी नै रहन्छ, ऊ कहिले पनि मालिक हुन सक्दैन। कर्मवादमा आधारित रही तयार पारिएको कविताले कर्म गरी फलको आस नराख्ने मौरीप्रति श्रद्धाशय समेत प्रकट गरेको छ। सारमा मौरी हरेक मानिसहरूको जीवन बाँच्ने कलाका रुपमा कवितामा स्थापित भएको छ भने कर्मलाई नै जीवनको अन्तिम सङ्घर्ष ठानी लडिरहने मानिसहरूप्रति कविताले एकातिर श्रद्धाशय प्रकट गरेको छ भने अर्कातिर मौरीझैँ बाँच्नु यन्त्र मानव शिवाय केही होइन भन्ने लाक्षणिक संकेत समेत प्रस्तुत गरेको छ।

    जोतेर फर्किएको गोरु, कवि सुवेदीले वि.सं. २०४५ सालमा तयार पार्नुभएको कविता हो। यस कविताले एकातिर विद्यार्थी अवस्थाको दैनन्दिनलाई प्रस्तुत गरेको छ भने अर्कातिर तत्कालका निम्न बेतनका कर्मचारीको बाध्यतालाई समेत नजिकबाट चिहाउने प्रयास गरेको छ। ज्ञान र बुद्धि दिमागमा भर्न अनि परीक्षाको वैतरणी नदी पार गरी सुदूर भविष्यलाई आत्मसात गरी निराशाहरुलाई एकान्त कुनामा कतै थन्काई जीवन बाँच्न बाध्य विद्यार्थीहरूको कथा कुथुङ्रीलाई पनि कविताले भन्न छुटाएको छैन। मूलतः कविता विद्यार्थी, शिक्षक, बाध्यता अनि स्वर्णिम भविष्यसँग केन्द्रीकृत रहेका कारणले जीवनका केही आशा र केही निराशाहरुलाई पर्गेल्दै अन्ततः जोतेर थाकी फर्किएको गोरुझैँ हामी हरेक मानिसहरूले जीवन व्यतीत गर्नुपर्ने सत्यतथ्यलाई उजागर गर्न यो कविता सफल रहेको छ।

    हलीको होरातली र दायाँबायाँ

    लौरो प्रहार र पुच्छर निमोठाइले चिडिएर

    थकाइ र दिकदारी बोकेर

    लखतरान परेर जोतेर

    थलामा फर्किएको गोरु

    घाँस खानु पनि खाइदिनु जस्तो मान्छ

    जोतेर फर्किएको गोरु।

    तिहार, कविता कवि सुवेदीको द्वयार्थक कविताका रूपमा सङ्ग्रहमा सङ्कलित छ। बर्सैपिच्छे घुमिफिरी आउने तिहारलाई कविले बाल्यकालको अनुभवसँग साड्दै युवा अवस्थामा समेत रमाइलो हुँदै गर्दा आत्मज पुत्रवियोगका कारण सारा तिहारीय रमझम हराएको र ध्यौसी, भैलोसमेत वेदनारुपी प्रहारको विषय बन्न गएको सत् तथ्यलाई कवितामा उजागर गर्नुभएको छ। कविले उक्त वेदना आफूमा मात्र नरहेको र यस धर्तीमा जन्मने प्रत्येक प्राणीहरूले यस्तै वेदनालाई झेल्नु परिरहेको अनि पीर मार्कालाई सिरोपर गरी बाँचिरहेका मान्छेहरूले पनि यस समाजमा होसले बाँच्नुपर्छ भन्ने मूल तथ्यलाई कवितामा प्रस्तुत गर्नुभएको छ। तिहार कसै कसैका लागि खितिखिति हाँस्दै आउने पर्व बनेर आएको छ भने कसैका लागि यो धुरुधुरु रुने रुन्चे सार बनेको कुरा पनि कवितामा उजागर भएको छ।

    लाग्यो झड्का जब नियतिको बज्रले भो प्रहार

    भाग्यो सारा रमजम अहो पीर पो भो तिहार

    रम्ने कोही तर कति भने खिन्न भै बाँच्नुपर्ने

    यस्तै होला जुन नियतिले दिन्छ सो थाप्नुपर्ने।५

    फूल, कविता सङ्ग्रहको शीर्षकसमेत रहेको यस कविताले फूलको प्राकृतिक सौन्दर्य तथा त्यस सौन्दर्यसँग मानिसको कठोर परिश्रमलाई समेत तुलना गरेको छ। जसरी एउटा फूल किरा,जनावर , पक्षी आदिको घात प्रतिघातमा कठोर सङ्घर्षका बावजुद पनि फुल्छ त्यसरी नै हरेक मान्छेले यस प्रकृतिमा जन्म लिइसकेपछि प्रकृतिको जीवन चक्रलाई बुझेर भाँचिँदै, लाछिँदै अनि अनेक विघ्न बाधाहरु सहँदै बाँच्न सक्नुपर्छ। यस्ता सङ्घर्षशील व्यक्तिहरूको कथा एउटा गुलाबको फूलका माध्यमबाट भनेका कविले आफूलाई चाहिँ फूलको सट्टा पत्थर रुचाउने अनि फूलरुपी जीवन बाँच्न सक्ने साहस नभएको व्यक्तिका रूपमा कवितामा चित्रित गर्नुभएको छ। कविताले फूललाई सृष्टिको संवाहकका रुपमा मानवसँग आरोपित गरी फूलरूपी जीवन बाँच्न चाहने साहसी व्यक्तिहरूको कथा समेत प्रस्तुत गरेको छ। कवि फूललाई कतै सङ्घर्षशील व्यक्तिको प्रतीकका रुपमा उपस्थापित गराउनुहुन्छ भने कतै अर्काका लागि सजिएको सुन्दर वस्तु र झरेपछि वासनासमेत शेष नरहेको अशेष वनस्पतिका रूपमा समेत चित्रित गर्नुहुन्छ। सारमा सङ्ग्रहको शीर्षकसमेत रहेको फूल कविता मानवीय जीवन बचाइप्रतिको यथास्थितिलाई प्रस्तुत गर्ने एक प्रतिनिधि कविता हो । जसले फूलका माध्यमबाट मानवीय जटिलतालाई सतही रूपमा उजागर गरेको छ। कर्म, व्यवहार, सांसारिकता आदिजस्ता विषयहरूलाई एउटा गुलाफको फूलका माध्यमबाट प्रस्तुत गर्दै सांसारिक अन्तस्करणलाई मिही रुपमा देखाउन सफल छ फूल कविता।

    भाँचिनु लाछिनु विघ्न विनाश

    फेरि पलाउन फुल्न प्रयास

    सृष्टि बराबरा फूल मिजास

    जीवनको गति पुष्प सुवास।६

    उपसंहारः

    कवि जीवनाथ सुवेदीद्वारा संरचित प्रस्तुत फूल,नामक कविता सङ्ग्रह कवि सुवेदीको कविता सङ्ग्रह प्रकाशनको दृष्टिले पहिलो कविता सङ्ग्रह भए पनि लाग्दैन कवि कुनै काव्य जगतको नयाँ संरचना हुनुहुन्छ।झन्डै चार दशकपूर्वका कवितादेखि वर्तमानसम्मका कविताहरूलाई पर्गेल्दा कवि चारदशकपूर्व जति निखारिनु भएको थियो त्यति नै वर्तमानसम्म आइपुग्दा अझ तिखारिनु भएको छ। गद्य अनि पद्य दुवै लयमा रचित कविताहरू यस सङ्ग्रहमा संकलित भएपनि गद्यलयका कविताहरूमा पनि सूक्ति मयता रहेका कारण अनि अन्त्यनुप्रासको समेत संयोजन हुँदा गद्य कविताहरूमा पनि छन्दोबद्ध कविताको स्वाद सहजै प्राप्त गर्न सकिन्छ। संरचनागत दृष्टिले पनि कविताहरू लघु आयामदेखि मध्यम आयामसम्मका रहेका कारणले पाठक वर्गलाई समेत पठन क्रियामा सहजै साथ दिन सक्ने किसिमका छन्। कविताहरू आन्तरिक तथा बाह्य संरचनामा समेत कसिला रहेका कारणले भाव विधान तथा अन्तरलय कतै पनि छुटेको अनुभूत हुँदैन। ३५ वटै कविताहरूको विषयवस्तु फरक फरक रहेका कारण कुनै पनि कविताको विषय दोरिएको अनुभूत हुँदैन भने विषयवस्तुसमेत यसै जगतका यावत् मानवीय स्वभाव ,प्रवृत्ति, धर्म, संस्कार ,संस्कृति, देश, समाज, राजनीति, प्रकृतिसहितको जीवन भोगाइ अनि जीवन हेराइलाई समेत कविताको विषयवस्तुका रूपमा प्रस्तुत गरिएकाले पनि विषयगत दृष्टिकोणले कविता सङ्ग्रह अत्यन्तै अब्बल छ। भाव विधान, कथन पद्धति ,अलङ्कार तथा बिम्बविधान, व्यञ्जना विधान, भाषाशैली अनि उद्देश्यसमेत सङ्ग्रहमा सतही रुपले आएका कारण कवि गुरु कोमलप्रसाद पोखरेलले भनेझैँ कवि सुवेदीको प्रस्तुत कृति अभिधाभन्दा लक्षण र व्यञ्जना बढी भएका कारण पढ्न चाहने पाठकहरूका लागि रस ध्वनियुक्त सुवासित कृति साबित भएको छ।

    कवि सुवेदी मैले व्यक्तिगत रूपमा चिन्दा जस्तो हुनुहुन्छ कविता सङ्ग्रहमा पनि िठक त्यस्तै हुनुहुन्छ। उहाँ जीवन र समाजलाई जसरी बुझ्नुहुन्छ कवितामा पनि ठिक त्यसरी नै बुझेको मैले अनुभूत गरेको छु। आफूलाई सामान्य मान्ने तर गहिरो ज्ञान अनि क्षमता बोक्नु भएका सुवेदी अवसरलाई समेत सामान्य ठान्नुहुन्छ जसरी फूल शीर्षकको कवितामा फूललाई रुचाएर पनि आफू ढुङ्गा हुन चाहेको भाव व्यक्त गर्नुभएको छ। यति सुन्दर अनि बान्किला कविता रचना गर्नसक्ने कविप्रति थप अर्को सङ्ग्रहको अपेक्षा राख्दा कुनै अन्याय नहुने मान्दछु।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.