Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भुइँमान्छे, कवितासंग्रह समीक्षा एक अध्ययन
    कनकाई नगरपालिका

    भुइँमान्छे, कवितासंग्रह समीक्षा एक अध्ययन

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण १२, शनिबार १३:११ गते7 Mins Read

    कविता साहित्य जगतकै समृद्ध एवं प्राचिनतम् बौद्धिक विधा हो। यसले जीवन जगतका बिहङ्गम पक्षहरूको काव्यात्मक ढङ्गबाट विवेच्य गर्दै अव्यक्त अभिव्यक्तिहरूलाई पनि भावत्मक रुपमा व्यक्त गराउँछ। कविता शब्दार्थको विशिष्ट संयोजन एवं संवेदनापूर्ण अभिव्यक्तिको कोमलतम संयोजन भएकाले यो सबैभन्दा बढी नै विधा अन्तर्गत पनि पर्दछ। विषयवस्तु, भाव एवं अनुभूति, व्यञ्जना, बिम्ब, प्रतीक लगायत विभिन्न तत्वहरू रहने कविताको मूल सौन्दर्य भाषिक शिल्प तथा व्यङ्ग्य समेत रहेकाले पनि हरेक पाठक एवं लेखकहरु यसको लतमा सजिलै फस्न सक्छन् ।
    कविता साहित्यको त्यो सौन्दर्य हो जसमा जीवनका दुःख, घृणा, आक्रोश, ग्लानी, चिन्ता, आकांक्षा प्रकट भएर पनि आश्वाध्य हुन्छन्। जति तिता, जति टर्रा अनि जति चर्का कविताहरु हुन्छन् त्यति नै यी स्वादिला हुन्छन्। सायद बेस्वादमा पनि स्वाद पाइने भएर होला यसको स्वादमा हरेक पाठकहरु बहुलठ्ठ हुन्छन्। यसैको निरन्तरता स्वरूप नेपाली कविताका क्षेत्रमा नवीन काव्यकृतिको जन्म भएको छ प्रयगराज काफ्लेद्वारा लिखित भुईँँमान्छे कविता सङ्ग्रह।

    प्रयागराज काफ्ले अर्थात् प्ररा तुफान नेपाली कथा, कविता एवं समीक्षाका क्षेत्रमा पुरानै नाम हो तर पुस्तक प्रकाशनका दृष्टिले चाहिँ प्रयागराज काफ्ले उर्फ प्ररा तुफान पहिला कवि हुन्, भुईँँमान्छे, कविता संग्रहका रूपमा। विशेष गरी पूर्वाञ्चल राष्ट्रिय दैनिक बिर्तामोडले केही वर्षअघि प्रत्येक शनिबार छुट्टै अङ्कका रूपमा प्रकाशित गर्ने छुट्टै साहित्यिक अङ्कमा साहित्यकार रश्मिशेखर तथा प्ररा तुफानका नामले कृति समीक्षा अनि अन्य साहित्यिक रचनाहरूको सम्पादन गरी प्रकाशन गर्ने कार्यमा साहित्यकार द्वय रश्मिशेखर अनि परा तुफानको अविस्मरणीय भूमिका त्यो समयका प्रत्येक साहित्यकारहरूको मन वा मस्तिष्कमा जीवित रहेको पाइन्छ। एफएम रेडियो अनि थोरै मात्रै छापाखानाहरू प्रयोगमा आइरहेको त्यो समयमा पूर्वाञ्चल दैनिकले प्रकाशन गर्ने शनिबारको त्यो साहित्यिक पातो स्थापित साहित्यकारहरूका लागि मात्रै नभएर उदाउँदा साहित्यकारहरूका लागि समेत त्यत्तिकै महत्वपूर्ण थियो। किनकि मैले आज पनि देखिरहेको छु त्यही शनिबारको पातोमा आफ्ना साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत गर्ने हिजोका ती उदाउँदा साहित्यकारहरु आजका स्थापित एवं सम्मानीत प्रतिष्ठित, साहित्यिक व्यक्तित्वका रूपमा रूपमा दरिएका छन्। यसर्थ तत् समयको योगदानका लागि यहाँ साहित्यकार द्वय रश्मिशेखर एवं प्ररा तुफानलाई सम्झन उपयुक्त हुन्छ।

    प्रसङ्ग जोडौँ कविता संग्रह, भुईँँमान्छे,तर्फ। कवि प्रयागराज काफ्लेद्वारा लिखित यो कविता सङ्ग्रह विशेषतः समसामयिक एवं उत्तर आधुनिक विषयवस्तुमा तयार पारिएको एक उत्कृष्ट कविता संग्रह हो। मुख पृष्ठ, भूमिका एवं लेखकको आफ्नो भनाइ तथा विषयसूचीलाई समेत छाडेर यस संग्रहमा जम्मा १२० पृष्ठहरू रहेका छन्। प्राध्यापक डाक्टर हेमनाथ पौड्यालको विशेष भूमिका रहेको यस सङ्ग्रहमा लामा छोटा गरी ६०वटा कविताहरू क्रमबद्ध रुपमा राखिएको पाइन्छ। ६० वटै गद्य कविताहरू रहेको यस सङ्ग्रहभित्र भूमिकाकार डाक्टरले भनेझैँ शीर्षक सापेक्ष कविताहरू प्रतिबिम्बित भएका छन्। यथास्थिति विरोधी, परिवर्तन कामी एवं गणतन्त्रप्रति विश्वास गर्ने प्रयागराजकै विचारहरु कवितामा छताछुल्ल पोखिएका छन् । डाक्टर पौडेल थप्छन् कुनै एक विषयलाई टिप्नु र त्यसलाई कविताको ढाँचामा वर्णनात्मक रुपमा प्रस्तुत गर्नु कवि प्रयागका विशेषता हुन्। हो, यिनै विषयवस्तुको सेरोफेरोमा अनि आफ्नै जीवनको स्थलगत बिम्बलाई नजिकबाट चियाउँदै तयार पारिएको कविता संग्रह हो भुइँमान्छे।

    सत्य, नामक कविताबाट आरम्भ भई व्युह, नामक कवितामा समाप्त भएको यस संग्रहले माथि भनिएझैँ मुख्यतः समसामयिक विषयवस्तुलाई उत्तर आधुनिक शैलीमार्फत प्रस्तुत गर्दै जीवनका कहाली लाग्दा तथा उत्साहपूर्ण घटनासमेतलाई जीवन्त रुपमा प्रस्तुत गरी अमूर्तभित्र मूर्तताको खोजीसमेत गरेको छ। कवि काफ्ले, आँखा, शीर्षकको कवितामार्फत आस्था अनि विश्वास गुमाइसकेका, आफ्नै रात तथा तापले स्खलित भइसकेका आजका हुंकारी मान्छेहरूलाई सिङ्गो युगमा आस्था टेकेर उभिई बाँच्न सिकाउँछन्। संग्रह भित्र रहेको अर्को एक सुन्दर कविता हो क्यानभासमा घाउ, मुख्यतः क्यानभासलाई विषयको चुरो बनाई तयार गरिएको यस कविताले वर्तमान नेपालका जलिरहेका समग्र क्षेत्रहरूको वस्तुस्थितिलाई आत्मलातीय शैलीका माध्यमबाट प्रस्तुत गरेको छ। कवितामा जलिरहेको घर, बादलका थेग्लाहरू, सडक तथा मलामीजस्ता प्रतीकहरूले कुरुपताको झल्को दिई वर्तमानप्रतिको विचार, वस्तुस्थिति एवं समग्रतालाई सतही रूपमा चित्रित गर्न सफल भएको छ। क्यानभास कविको कल्पना हो अनि क्यानभास विचारको दर्पण हो तथापि कविता भित्र जलिरहेका अनि बाहिर बलिरहेका समग्र जटिलताहरूको प्रतिबिम्ब हो। त्यस्तै संग्रह भित्रको अर्को सुन्दर कविता हो, कंक्रिट मान्छे,। कंक्रिट मान्छे दोस्रो विश्व युद्धपछिको उपलब्धिको कविता जस्तो लाग्दछ। दोस्रो विश्वयुद्धपछि मान्छेले मान्छेबाटै मानवीयता गुमाउँदै गयो। ईश्वरप्रतिको अविश्वासलाई मान्छे आफैले सिर्जना गर्यो भने युद्धको चर्को घाउ विषेक भएसँगै अत्याधुनिक वैज्ञानिकतामा रमाएको मान्छेले ईश्वरलाई विज्ञानको कसीमा तौलिएर दाँज्न थाल्यो। ईश्वर, पूजकहरूमा मात्रै सीमित भए भने विज्ञानले ईश्वरको स्थान लिन सफल भयो। परिणामस्वरूप एकथरीहरू कंक्रिटको साँघुरो घेरामा सीमित भए जो ईश्वरवादी भए ।अर्का थरीहरु ब्रह्माण्डको अध्ययनमा मात्र लागेनन् भू उपग्रहहरूमा आफ्नो आधिपत्य समेत स्थापित गर्न थाले। ती विज्ञानवादीहरु भए। त्यसैको परिणामस्वरूप साहित्यमा प्रयोगवाद, दादावाद, विनिर्माणवाद, तरलवादजस्ता सैद्धान्तिकवादहरू सतहमा आए यसैको परिणाममा जन्मिएको कविता हो कंक्रिट मान्छे। यस कविताले कंक्रिटको नक्सामा उभिएको ईश्वरबाट मुक्तिको अपेक्षा गर्नेहरूप्रति तीव्र व्यङ्ग्य गरेको छ भने चार धाममा कैद भएको साघुरो ईश्वरवादप्रति अविश्वास प्रकट गरेको छ। शीतको थोपा सूर्यको एक प्रकाशले सुकेझैँ मानिसहरूका अनेकन् आस्था र विश्वासहरू अन्ततः ईश्वरकै भोकले मर्ने तथ्यलाई यस कवितामा उजागर गरिएको छ।

    विश्वास त

    शीतको बुँद रहेछ

    घामको आँखा पर्दा निभ्दो रहेछ

    आखिर मान्छे

    ईश्वरकै भोकले मर्दो रहेछ।

    भ¥याङ, कविता समसामयिक विषयमा तयार पारिएको एक उत्कृष्ट कविता हो। यस कविताले भ¥याङलाई माध्यम बनाई वर्तमान नेपाली समाजमा देखाउने र चपाउने दाँतप्रतिको विभिन्नतालाई प्रस्तुत गरेको छ। भ¥याङ आरोहणको एक महत्वपूर्ण माध्यम हो। यो निर्जीव अनि एक प्रकारको ठोस वस्तु हो। यसले आफूमाथि चढ्ने अनि ओर्लने कुनै पनि व्यक्तिहरूप्रति विभेद गर्दैन। भ¥याङ अमुक भएका कारणले पनि ऊ कुनै प्रतिक्रिया जनाउँदैन। उसलाई कुल्चिएर अघि बढ्ने चोरहरू साधु भएका छन्। साधुहरू चोर भएका छन्। रक्षकहरू भक्षक भएका छन् भने भक्षकहरू रक्षक समेत भएका छन्। भ¥याङ विचारको शिर हो, भ¥याङ विश्वासको आरती हो। त्यसैले यो वर्षौँदेखि निशब्द ठडिएको छ भने एक्लो साक्षी भएर हरेक व्यक्तिहरूका क्रिया अनि प्रतिक्रियाहरूलाई आफ्ना अबोध आँखाहरुले टुलुटुलु हेरिरहेको छ।

    सङ्ग्रहको अर्को सुन्दर कविता हो,दुःख,। यस कविताले टाल्टुले जीवनयापन गर्ने प्रत्येक नागरिकहरूको दुःखलाई नजिकबाट चियाएको छ। मनमा सधैँ वसन्तको फूल फुलाउन चाहने ऊ पात्रको सधैँ त के १२ वटा ऋतुमा पनि वसन्त ऋतु कहिले भाग लागेको छैन। वसन्त ऋतुकै सपनामा उसले टाल्टुले जीवनलाई सपनाका साना टुक्राहरूले टाल्नु सिवाय केही गर्न सकेको छैन। त्यसैले ऊ रुपी सपनाबाट मात्र होइन विपनाबाट समेत भाग्न चाहिरहेको छ।

    टाल्दाटाल्दै उसले बुझेको

    टाल्नु पो जीवन रहेछ।

    र आज उसले टाल्यो मुटु

    सपनाको सानो टुक्राले।

    र बिहानै गयो मेला।

    मधुमास, सङ्ग्रहको शृंगार रसप्रोती तर वियोग प्रधान कविता हो। कवि कविताभित्र मधुमासमा रत्तिएको भए तापनि उनको मधुमासलाई सँधियारको जङ्गे पिलरले १० गजाभित्र कैद गरिदिएको छ। फलस्वरूप कविमा भएको मधुमास समयको बाध्यताभित्र घुलीन भई फुल्न सकेको छैन भने रात बुढो भएझैँ मधुमास भित्र कवि रम्न सकेका छैनन्।

    संग्रहमा गधा, नामक कविताले गधालाई प्रतीकका रुपमा उभ्याई गधाजन्य प्रवृत्तिप्रति मान्छेलाई आरोप गरेर देखाइएको छ। गधा, स्वप्नविहीन एक सजीव भएर निर्जीवझैँ जीवन यापन गरिरहेको छ। ऊ कहिले धोबीको भएर त कहिले आफैँ भरिया भएर जीवनका दैनन्दिन दुःखहरूलाई प्रत्येक दिन बोकिरहेको छ। ठिक मान्छेमा पनि यही प्रवृति देखेका छन् कवि काफ्लेले। प्रगतिवादी, प्रयोगपरक कविताका रूपमा आएको यस कविताले गधा र धोबी अर्थात् मालिक र नोकरबीचको कार्यसम्बन्धलाई देखाउँदै देवकोटीय कविता सृष्टिको उत्कृष्ट कविता, प्रभुजी मलाई भेडो बनाऊ, भन्ने कविताको आशयगत भावलाई साङ्केतिक रुपमा बोकेको छ भन्दा अन्यथा नहोला। धोबीहरूका विचारमा

    गधाको कुनै रहर छैन

    निधारमा श्री छैन

    कसैले बुर्कुसी मारेर

    उन्मत्त कुद्न हुन्न।

    फुको रूखोमा सच्चित आनन्दमा रम्दै

    बेसुरो हिँड्नु

    उसको कर्तव्य हो।

    कविता संग्रहकै शीर्षकका रूपमा आएको भुइँमान्छे कविता यस सङ्ग्रहको मूल कविता हो। स्वप्ना अनि आकाङ्क्षाहरूलाई साङ्लीले बाँधेर जीवन यापन गरिरहेको ऊ पात्र मरेको साहसलाई नमरेझैं गरी जीवन चलाइरहेको छ। ऊ यस समाजको बर्जित पात्र हो। ऊ न कथामा छ न त कुथुङ्रीहरूमा नै, छ त केवल व्यक्तिहरूको श्रम अनि शरीरबाट तररतर बग्ने पसिनाहरुमा। ऊ ईश्वरलाई साक्षी राखेर अझै पनि विश्वासहरू सपनासँग खेलाइरहन्छ, सुपूर्व भविष्यको परिकल्पनामा स्वप्ना देखिरहन्छ, खैर, ऊ भुइँमान्छे हो तर पनि आफूले देखेको सपनालाई बिपनामा परिणत गर्न फेरि पनि दाम माग्छ। भगवानलाई चढाउन।

    एकदिन घरमा अचानक आयो

    यसो नियाले

    निधारभरि चन्दन लगाएछ।

    राति शिवजीले दर्शन दिनुभयो

    र पशुपति गएर आएको सुनायो।

    २० रुपैयाँ देउ न

    मेरो शिवलाई चढाउन माग्यो।

    बुख्याँचा, शीर्षकको कविताले फेदबाट नपलाइ टुप्पामा पलाएका आजका मानिसहरूप्रति चोटिलो व्यङ्ग्य कसेको छ। हिजोसम्मका नकटाहरु आज नाक पलाएको भान गरी अनाहक बुरुक बुरुक उफ्रिएको देख्दा कवि अचम्मित मात्र भएका छैनन् त्यस्ता भद्दा दृश्यहरु देख्नुपर्दा ग्लानी समेत महसुस गरिरहेका छन्। कवि लेख्छन् नाक नभाकाहरूको नाक पलाएछ कान नभएकाहरूको कान पलाएछ आँखा नभएकाहरु पनि आँखा बालेर कुद्दैछन्। कवि प्रयागराज काफ्ले प्रकाशित कविता सङ्ग्रहका रूपमा पहिला कवि होलान् तर उनी पत्रपत्रिकामा दर्जनौं कविताहरू प्रकाशित गरी अत्यन्तै माझिएका र निखर कविताहरू लेख्न सक्ने क्षमता भएका कवि हुन् भन्दा अन्यथा हुन्न। लामो समयसम्म, दोमुखा मासिक, साहित्यिक पत्रिकालाई सम्पादन कार्य गरी गहन जिम्मेवारी सम्हाली सक्नुभएका कवि काफ्लेले दर्जनौं समालोचना समेत पत्रपत्रिका मार्फत प्रकाशित गरिसकेको हुँदा भुइँमान्छे कविता संग्रह पनि सोही माझिएको निखर विचारबाट उत्पादित भएको हुँदा उनको काव्यात्मक भावधाराको अनुश्रुतिमा कतै चोट लागेको छैन। संग्रहका कविताहरू निखारिएका मात्र छैनन् अत्यन्तै तिखारिएका पनि छन्। कविताको शीर्षक आफैंले भुइँबाट उम्रन प्रयास गर्दै गरेका मानिसहरूको प्रतिनिधित्व गरेका कारणले पनि शीर्षक एवं कविता संग्रहभित्रका कविताहरूको शीर्षक सार्थकताको विषय खोज्न अन्यत्र आँखा डुलाइरहनु नपर्ने देखिन्छ। सङ्ग्रह भित्र रहेका ६० वटै कविताहरू आफैंमा परिपूर्ण छन् भने सङ्ग्रह उन्मुक्त स्वच्छन्दतावाद, प्रगतिवाद, उत्तर आधुनिकतावादभित्रका अनेकन् परिणतिहरू तथा अभिव्यञ्जनावाद, अति यथार्थवाद र अस्तित्ववादको मानवीय नियतिलाई कुनै न कुनै कविताहरूले सजिलै बोक्न सफल भएका छन्। अब कवि काफ्ले समयको औपचारिक बन्धनबाट उन्मुक्त भएका कारण थप कविता संग्रहको अपेक्षाका साथ लेखनीलाई विश्राम दिइन्छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.