वर्तमानमा हामी निराशामा बाँचिरहेका छौं । मुलुकमा असल काम गर्ने वा गर्न चाहने पनि छन् । तर जुन जोगी आए पनि कानै चिरेका भन्दै सबैलाइ हामी नकारात्मक दृष्टिकोणबाट हेरिरहेका छौं । हामीकहाँ लामो राजनीतिक अस्थिरताका कारण नयाँ पुस्तामा समग्र राजनीतिप्रति नै वितृष्णा बढाएको छ । पोलिटिक्स इज् डर्टी गेम भन्ने सङ्कथन अहिले हावी भएको छ।
हिजोको राजनीतिक व्यवस्था परिवर्तनको लडाइँमा समर्पित र स्वतन्त्रताका लागि लामो समय जेलनेल, दुःखकष्ट भोगेका नेतृत्वप्रति पनि अविश्वास झाँगिएको अवस्था छ । यस्तो भाष्य तयार गरिएको छ —सबै नेता खराब छन् । तर मुलुकका लागि चिन्तनशील,विकासवादी र विचारवादी नेता पनि नेपालमा छन् । कैयौं कमीकमजोरी हुन सक्लान्, तर स्पष्ट विचार भएको र विकास गर्ने हुटहुटी भएका थोरै नेतामध्ये एक हुन् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । समन्वयकारी, गतिशील, स्पष्ट विचारका साथै विकासको रोलमोडल बनाउने क्षमतावान नेताका रूपमा विष्णुप्रसाद पौडेललाई धेरैले प्रशंसा गर्छन् । विकासलाई जनताको जीविकासँग प्रत्यक्ष जोड्ने र समृद्धिलाई जनहितमा केन्द्रित गराउन भिजन भएका नेता हुन् विष्णुप्रसाद पौडेल । मध्यम वर्गीय परिवारमा जन्मेका र दुःखजिलो जीवन भोगेका उनको राजनीतिक यात्रा विचार, विकास र जनताका दैनिकी फेर्नुमा केन्द्रित छ ।
नेकपा एमालेका अध्यक्ष सम्माननीय केपी ओलीको नेतृत्वमा गठित सरकारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री रहेका पौडेलले जीवनमा धेरै हण्डर र भुक्तमान बेहोरेका छन् । उनले २०३५ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए । उनले २०३७ सालमा तीन वर्ष जेल र तीन हजार जरिवाना सजाय गरिएकोमा ४५ दिनमा जेल विद्रोह गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेताका रूपमा परिचित उपप्रधानमन्त्री पौडेल चार दशकदेखि राजनीतिमा सक्रिय छन् । उनी अहिले एमालेको उपाध्यक्षको जिम्मेवारीमा छन् ।
अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोओर्डिनेसन कमिटी (माले) को सदस्य भएर वि.सं. २०३५ असोजमा राजनीतिमा प्रवेश गरेका मन्त्री पौडेल वि.सं.२०३५ मङ्सिरदेखि पूर्णकालीन सदस्य भएर काम गरेका थिए । २०४१ सालमा नेकपा (माले) को जिल्ला कमिटी सचिव, विसं २०४७ नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य र वि.सं. २०५९ मा एमाले स्थायी कमिटी सदस्य भएर काम गरिसकेका छन् ।विसं २०६५ मा एमाले सचिव, २०७१ सालमा नवौँ महाधिवेशनपछि एमाले उपमहासचिव तथा २०७५ सालमा पार्टीको महासचिवको जिम्मेवारी लिएर उनले काम गरेका थिए ।विसं २०१६ मङ्सिर १६ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका नवनियुक्त अर्थमन्त्री पौडेलको संसदीय राजनीति यात्रा २०५१ सालबाट सुरु भएको हो। उनी २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए । पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री भएका थिए ।
उनी२०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ३ मा पराजित भए । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी पाएका पौडेल वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व सरकारमाअर्थमन्त्री बनेका थिए । उनी रुपन्देही क्षेत्र नं. २ बाट लगातार चार पटक सांसदमा निर्वाचित भए।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गरेर मात्र मुलुक समृद्धिको मार्गमा अग्रसर हुने बताउँछन् । उनी विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने धारणा राख्छन् । नेतृत्वमा सम्भावनालाई साकार पार्ने, आन्तरिक एकता बलियो बनाउने, सङ्गठन सुदृढ, गतिशील, अनुशासित बनाउने जिम्मेवारी रहने उनको भनाइ छ । उनले जुनजुन मन्त्रालय सम्हालेका हुन् र हरेक पटक उनले निर्विवाद रूपमा आफ्नो कार्यकुशलता प्रदर्शन गरेका हुन् । उनी आम कार्यकर्ता र शुभचिन्तकका लागि सहज र मिलनसार नेता हुन् । सबैको स्वभाब एउटै हुँदैन र छैन पनि ।
विष्णु पौडेल समाजमा सहजै भिज्न सक्ने र सरल नेताका रुपमा स्थापित छन् । देशका जुनसुकै कुनाका नेता कार्यकर्ताहरु नै किन नहोऊन् उनी सबैसँग उत्तिकै परिचित र सरल रुपमा प्रस्तुत हुने व्यक्तित्वमा पर्छन् । विपक्षीको पनि मन जित्न उनलाई गाह्रो पर्दैन र चूनावमा विजय हासिल गर्न कठिन हुँदैन ।उनी सदैव राष्ट्र निर्माणको लागि सबैले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्नेमा जो दिन्छन् । सदैव सबैसँग सन्तुलित ढंगमा प्रस्तुत हुने पौडेल बहुत अप्ठेरो र चुनौतीपूर्ण समयमा अर्थमन्त्रीको कुर्सीमा बस्न आइपुगेका छन् । उनको विचारमा मुलुकको अर्थतन्त्रका समस्या हल गर्न नीतिगत सुधारका लागि सरकार तयार भएको छ । उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँनयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सकिने भन्दै उनले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरुलाई परिमार्जन र सुधार गर्दै जानेउनको योजना छ । अर्थमन्त्री पौडेल आशाको केन्द्रमा छन् ।
मुलुकका सबभन्दा ठूला दुई दलहरू नेपाली काङ्ग्रेस र नेकपा एमालेको सहकार्यमा अन्य साना दलहरू पनि सामेल गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा अर्थमन्त्रीको रूपमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नियुक्ति भएपछि अर्थ जगतमा आशाको सञ्चार भएको छ ।अर्थमन्त्रीले सम्बोधन गर्नुपर्ने मुद्दा र विषय एउटा होइन अनेक छन्। वितरणकारी र सस्तो लोकप्रियतावादी अर्थनीतिले मुलुकलाई कमजोर बनाएको छ। लगानीको क्षेत्रमा देखिएको निराशाजनक अवस्थामा सुधार ल्याउन अर्थमन्त्री पौडेलको सकारात्मक भूमिका रहने र सर्वसाधारणदेखि पूँजीपतिसम्म उनकै कदमको प्रतीक्षामा छन् । अर्थतन्त्रका बाह्य सूचक सकारात्मक भएर मात्रै अर्थतन्त्र सबल हुन्न। अर्थतन्त्र चलायमान नभएको मात्रै होइन, शिथिलै छ। यस्तोबेला अर्थ मन्त्रालयको बागडोर सम्हालेका पौडेलका सामु चुनौतीका चाङ छन्।
औपचारिक रूपमा व्यवस्थापन वा अर्थशास्त्रको अध्ययन नगरेका तर जीवनका उकाली ओराली, दुःखसुखबाट अर्थशास्त्र बुझेका अर्थमन्त्री पौडेल चुनौतीका चाङमा भासिने छैनन् । अनुभवी अर्थमन्त्रीसँग पुँजीबजारका लगानीकर्ताको अप्रितम आशा छ। शेयर बजारमा सकारात्मक बदलाव देखा पर्न शुरु भइसकेको छ । पूँजी बजारले उनको स्वागत गरिसक्यो, तर त्यो कत्तिको टिकाउ हुन्छ भन्ने चाहिँ पौडेलले आउँदा दिनमा लिने नीति र गर्ने व्यवहारमा निर्भर हुन्छ। पौडेल आजसम्म ८ पटक मन्त्री हुँदा पाँच पटक त अर्थ मन्त्रालयको सारथि भएका छन्। तसर्थ अब अरू मन्त्री जसरी अध्ययन गर्दैछु, बुझ्दैछु भनेर टार्ने काम उनीबाट हुनेछैन । अर्थमन्त्रीको आफ्नै मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मूल कार्यभार नै अर्थतन्त्रलाई उकास्ने र व्याप्त निराशालाई चिर्ने हुनुपर्छ। यसर्थ अर्थमन्त्रीमाथि ठूलो कार्यभार छ। बितेको आर्थिक वर्ष सरकारलाई कर राजस्व र गैरकर राजस्वबाट १० खर्ब ५८ अर्ब रुपैयाँ आम्दानी भएको छ। यो आवको बजेट भने १७ खर्बमाथिको छ र राजस्व लक्ष्य गत आवमा उठेभन्दा ज्यादा। ऋणमा आश्रित छ बजेट। यसै पनि मुलुकको पूँजीगत खर्चको स्थिति कमजोर होइन टिठ लाग्दो छ।
तर सरकार निर्माण व्यवसायीलाई भने गरेकै कामको पनि भुक्तानी गर्न असमर्थ छ। ५० अर्ब रुपैयाँ नपाएर व्यवसायी आन्दोलित छन्। बैंक तथा वित्तीय संस्थाहरूमा पुँजीको थुप्रो लागेको छ। ऋण प्रवाह भएको छैन। बैंकहरूको प्रतिफल कमजोर भएको छ। खराब कर्जा चाहिँ उकासिएको छ।उनको सफलता निजी क्षेत्रलाई कति विश्वासमा लिन सक्छन् भन्ने अहम् प्रश्नमा निहित छ। व्यावसायिक र उद्यमको वातावरण कमजोर छ, त्यसैले पनि अर्थतन्त्र चलायमान नभएको हो, शिथिल भएको हो। अर्थतन्त्रलाई उकास्ने सबैभन्दा पहिलो कार्यभार हो उनको। त्यसपछि नै मुलुकमा आश गरिएको राजनीति स्थिरतालाई त्यसले पुट दिन सक्छ र सरकार सफल पनि हुन्छ उनकै कारण। जनताले अर्थमन्त्री पौडेलबाट मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन होइन, केही न केही सकारात्मक बदलावको आशा गरेका छन् ।
अर्थमन्त्री पौडेलको अनुभवी, परिपक्व र सुझबुझसहितको निर्णय र तिनको सफल कार्यान्वयनबाट मुलुकले अर्थतन्त्रमा थोरै भए पनि सुधार गर्न सक्छ । अर्थमन्त्री पौडेल नेपालको खस्केको अर्थव्यवस्थालाई ठीक बाटोमा ल्याएर जनताको निराशालाई चिर्न सफल हुनेमा आशावादी बन्न सकिन्छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लिने नीति र कार्यान्वयनलाई जनताले आशाको नजरले हेरेका छन् ।