राजनीति, प्राध्यापन, साहित्य र पत्रकारितालाई सँगसँगै उत्तिकै सन्तुलनमा राखेर थोरै मानिसले मात्र सक्छन् । देवकुमार आचार्य अर्थात् डी. कौडिन्य वामपन्थी आन्दोलनका पूर्व क्षेत्रका चम्किला रातो तारा हुन् । उनी नेपाली राजनीतिक क्षेत्रका युगयुगसम्म अमर रहिरहने नेता हुन् भने साहित्य आकाशका एक चम्किला नक्षत्र हुन् । उनी लोकप्रिय लेखक थिए, क्रान्तिका ऊर्जापूञ्ज थिए । उनी प्रतिभाशाली माक्र्सवादी बुद्धिजीवी थिए ।
प्रगतिशील साहित्य क्षेत्रका सिद्धहस्त कलमकर्मीको रुपमा चिरपरिचित बहुआयामिक व्यक्तित्वका धनी डी. कौडिन्य एक जनपक्षीय पत्रकार, माक्र्सवादी विश्लेषक र क्रान्तिकारी बुद्धिजीवी थिए । उनी नेपाली जनताको हृदयमा बलिदान र समर्पणका बिम्बका रुपमा रहेका छन् । उनी कम्युनिष्ट पार्टी र आन्दोलनले परिवर्तनका एजेण्डालाई सम्बोधन गर्न सक्नुपर्छ र गरिब, निमुखा जनतालाई शोषण, थिचोमिचो र दमनबाट मुक्त गर्न सक्नुपर्छ भन्थे । क्रान्तिकारी निष्ठा र त्यस प्रतिको प्राणोत्सर्गका कारण उनी नेपाली राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा सदासदा जीवन्त रहिरहने छन् ।
२०१९ साल असोज १० गते जन्मेका डी. कौडन्यले गरिबी र अभावका वीचबाट आफ्नो शैक्षिक, साहित्यिक र राजनीतिक यात्रालाई शुरु गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम्.ए. गरेका थिए । सामाजिक न्याय र समानताको पक्षमा वकालत गरेकै कारण २ पटक भूमिगत, ३ पटक जेल (करिब ६ वर्ष) र ४ पटक गिरफ्तारीमा परेका थिए । इमान्दार, मिजासिलो, शालीन, विवेकी नेताको रूपमा उनलाई आज पर्यन्त उनका साथीसङ्गी र उनी भूमिगत रहेका घरका अभिभावक तथा जनता मान्दछन् । सरल जीवन र उच्च विचारका पक्षपाती उनी श्रमजीवी जनताका पक्षधर थिए । उनी एक लोकप्रिय र परिपक्व नेता थिए । उनी आज पनि जनताको मनमस्तिष्कमा बाँचिरहेका छन् । लोकतान्त्रिक आन्दोलनमा जसरी सी. के. प्रसाई (भरतबाबु) लाई आदरका साथ हेरिन्छ, त्यसरी नै झापामा आज पनि द्रोणाचार्य क्षेत्री, डी. कौडिन्य, रामनाथ दाहाल, नेत्र घिमिरे र गौरीशङ्कर खडका (राजेन्द्र) लाई नेपाली कम्युनिष्ट आन्दोलनका समर्थकहरू उच्च सम्मानका साथ सम्झना गर्छन् । जनताको हृदयको ढुकढुकी भएर धड्कनका लागि जनता, समाज र मुलुकका लागि निस्वार्थ रूपमा योगदान दिएको हुनुपर्छ । सांसद हुँदैमा, मन्त्री हुँदैमा, प्रधानमन्त्री हुँदैमा कोही पनि जनताको प्यारो हुनसक्छ भन्ने छैन । डी. कौडिन्यले जीवनभर सङ्घर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनुप¥यो । उनले आजीवन सुन्दर समाजका लागि लडेका थिए । त्यसैले उनी नेपाली जनताको हृदयमा छन् आज पनि र रहिरहनेछन् ।
शासकहरूबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि उनी कहिल्यै झुकेनन्, क्रान्तिप्रति निरन्तर आस्थावान रहे । उनले माफी मागेको भए वा क्रान्तिप्रति गद्दारी गरेको भए सायद उनी मारिँदैनथे होलान् । तर उनले विश्वासघातभन्दा मृत्यु रोजे । भनिन्छ उनी पार्टीभित्रकै गद्दारीले शासकका पञ्जामा परे । हातमा कलम बोकेर अज्ञान र अन्धकारका विरुद्ध लड्ने एक होनहार योद्धालाई शासकहरूले भालाले रोपीरोपी यातना दिएर मारे र खुशीयालीमा भोज लगाए । तर डी. कौडिन्यले देखेको सपनालाई छोप्न सकेनन्, उनका दूरदृष्टिमाथि बर्फिलो पानी खनाउन सकेनन् । आज उनी लगायत हजारौं शहीदको बलिदानका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा हामी उभिरहेका छौं । केही परिवर्तन अवश्यै भएको छ । आज पनि नेपाली जनता पूर्ण रूपमा खुशी हुन सकिरहेका छैनन् । उनको सपना पूर्ण रूपमा पूरा हुन सकिरहेको छैन ।
डी. कौडिन्यले जीवनभर देश र जनताकै लागि सङ्घर्ष गरिरहे । उनी नेपालको राजनीतिक आन्दोलनका यस्ता हस्ती हुन् जो निरङ्कुश शासकका सामु लत्रेनन् । उनी सदैव अधिनायकवादी शासकहरूको विपक्षमा उभिए । उनी कहिल्यै विचलित भएनन् । निरङ्कुशता विरुद्ध आक्रोश र विद्रोह बोल्दै उनले जीवनभर सङ्घर्ष गरे । त्यसैले शासकहरूले निर्ममतापूर्वक उनको हत्या गरेका थिए ।
सँधै साथमा कलम र कापी लिएर लेखिरहने र नयाँ नयाँ पुस्तक खोजेर पढिरहने डी. कौडिन्यलाई हत्या गरेर उनीसँग हतियार भेटिएको र भीडन्तमा मारिएको कपोलकल्पित समाचार प्रशारण गरियो र तर सत्य कहिल्यै छोपिँदैन । एउटा मुलुककै होनहार स्रष्टा र विचारकलाई अमानुषिक यातना दिएर मारेको यथार्थ झापाली जनताले कहिल्यै बिर्सन सक्दैनन् । उनी अध्ययनशील नेता थिए । उनले स्वदेशी र विदेशी साहित्यको गहिरो अध्ययन गरेका थिए । इतिहास, दर्शन, साहित्य र अर्थशास्त्रको गहिरो ज्ञानबिना राजनीति हाँक्न त्यति सजिलो हुँदैन भन्ने सच्चाइलाई उनले बुझेका थिए । आजका राजनीतिककर्मीहरूमा अध्ययनशीलताको अभाव छ र हावादारी प्रवृत्ति हावी हुँदै गएको छ । नपढ्ने र नलेख्ने नेता मुलुक र जनताका लागि केही गर्न सक्दैनन् । मुलुक योजना र कार्यक्रमबाट परिवर्तन हुने हो, हावादारी गफबाट होइन । यो सच्चाइलाई उनले हृदयतः ग्रहण गरेका थिए ।
जनताका छोराछोरीलाई हलीगोठाला सम्झिनेका विरुद्धमा उनले जेहाद छेडे, त्यसैले उनको हत्या भएको हो । उनको निधन २ दशक बिते पनि उनको विचारको महत्ता र गरिमा घटेको छैन । उनी मरेर गए पनि आज पनि हजारौं–लाखौं नेपाली जनताको मनमस्तिष्कमा उनी बाँचिरहेका छन् । उनी निरङ्कुश सामन्ती तथा पूँजीवादी राज्यव्यवस्थाका कडा आलोचक थिए । पूँजीवादी व्यवस्था तीब्र उपभोक्तावादी हुने भएकाले अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित हुन्छ भन्ने उनको धारणा थियो । साम्यवादी लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने डी. कौडिन्यले तत्कालीन समयमा पार्टीभित्र हुर्किँदै गरेको फौजी अराजकता र जनताबाट अलगथलग हुने परिपाटीको विरोध गरेका थिए भनेर मानिन्छ । पार्टीमा जनवादी केन्द्रीयताको प्रयोग सन्तुलित रुपमा हुनुपर्छ भन्नेमा उनको स्पष्ट विचार थियो । उनले बुद्धिजीवीलाई जनताहरु दुःख, कष्ट र वेदनामा रहेका बेला किनारामा उभिएर टुलुटुलु नहेर्न सुझाएका थिए । उनले व्यक्तिगत सम्पत्ति र परिवारलाई रत्तिभर वास्ता नगरी सामूहिक स्वार्थ र राष्ट्रको हितका लागि आफूलाई समर्पित गरे र समयक्रममा आफ्नो जीवन नै बलिदान गरे ।
पुरातन समाजको ध्वंश गरेर अपूर्व नूतन समाजको निर्माण गर्ने उनको सपना आज कतै असरल्ल परेको छ । विजय भएको क्रान्तिको पछि लाग्ने हजारौं हुन्छन्, भनिन्छ त्यतिबेला मरेका लासहरू पनि उहिल्यैदेखि जीवित भएको नाटक गर्छन्, अब्बल क्रान्तिकारी भएको अभिनय गर्छन्, तर क्रान्तिले धक्का खाएको बेलामा मुसाको दुलामा पस्छन् । विजयको बेलामा तिनै कायरहरू क्रान्तिको भाग खोस्न निर्लज्ज अघि सर्छन् र शहीदका सपनालाई घाँटी रेटेर रछ्यानमा मिल्काउँछन् । हो, यस्तै भएको छ उनका हकमा पनि आम शहीदलाई जस्तै, शहीद तथा बेपत्ता परिवारलाई जस्तै । वामआन्दोलन र प्रगतिवादी सांस्कृतिक क्षेत्रका महान् योद्धा डी. कौडिन्यका योगदानलाई स्मरण गर्न र उनले देखाएको बाटोमा हिँड्न कठिनाइ हुँदै गएको छ सबैका लागि । २०५९ साल साउन ७ गते चारआलीस्थित शाही नेपाली सैनिक क्याम्पमा खसेको कालो रात जस्तो क्रुर, पापी र मुटु चुँडाल्ने रात झापाली जनताको घरआँगनमा अब कहिल्यै नआओस् । लोकतन्त्र र आमूल रूपान्तरणका पक्षमा कलम चलाउँदा चलाउँदै जीवन बलिदान दिने जनपक्षीय पत्रकार शहीद डी. कौडिन्यलाई भावपूर्ण श्रद्धाञ्जली !!