कनकाई खबर \ नेपाल आदिवासी जनजाती महासंघ झापाले शनिवार बन्दको घोषणा गरेको छ ।
महासंघले लोकसेवा आयोगले बिभेदपुर्ण रुपमा बिज्ञापन प्रकाशन गरेर परीक्षा लिन शुरु गरेको भन्दै प्रदेश न १ बन्दको आह्वान गरेको हो । संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेर बिज्ञापन प्रकाशन परीक्षा सुरु गरेको महासंघको आरोप छ । महासंघ झापाले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी लोकसेवाले आदिवासी जनजातिप्रति गरेको अन्याय बिरुद्ध बन्दको घोषणा गरेको हो ।
लोकसेवा आयोगले स्थानीय तह र प्रदेशका लागि ९ हजार १ सय २६ जना निजामती कर्मचारीका लागि बिज्ञापन आव्हान गरेको थियो । संविधानमा ४५ प्रतिशत आरक्षणको ब्यवस्था गरेको भन्दै हाल त्यो घटाएर २३ प्रतिशतमा झारिएको प्रति महासंघले आपत्ति जनाउँदै बन्दको आव्हान गरेको महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताएका छन् । महासंघका अध्यक्ष श्रेष्ठले जनजाति, आदिवासी, मुस्लिम, दलितलगायत ५९ वटा जातीय संघ, संगठनको यस आन्दोलनमा ऐक्यवद्धता रहेको बताएका छन् ।
महासंघले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रवार वेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरेको छ । ‘सरकारले नै संविधान उल्लङ्घन गरेको छ’ महासंघका पुर्व अध्यक्ष प्रेम घिसिङले भने ‘नभए संविधानमा व्यवस्था गरिएका कुराहरु दिनुपर्छ ।’
सरकारले नै आरक्षण कटौती गरेकाले बाध्य भएर आन्दोलन गरेको घिसिङले बताए । बन्दलाई संघीय लिम्बुवान मञ्च, नेपाल झापाका अध्यक्ष धनबहादुर पन्धाक, महासंघका मेचीनगरका पुर्व अध्यक्ष केवलराम राई, लगायतले उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था बन्दको आह्वान गरेको बताएका थिए ।